कृषि होमस्टेबाट ३८ लाख आम्दानी
पाल्पा । सदरमुकाम तानसेनदेखि करिब १४ किलोमिटरको दूरीमा रहेको कृषि होमस्टेले एक वर्षमा ३८ लाख बराबरको आम्दानी गर्न सफल भएको छ ।
खस्यौलीको हिरापोखरामा सिर्जना फार्म प्रालिद्वारा सञ्चालित कृषि होमस्टेले गएको वर्ष सो आम्दानी गर्न सफल भएको हो । यहाँ पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटक भित्रन थालेपछि आम्दानी पनि बढ्दै गएको हो ।
सो होमस्टेमा एक वर्षमा आन्तरिक र बाह्य गरी १ हजार ५ सय देखि १ हजार ७ सय सम्म पर्यटक भित्रने गरेको व्यवस्थापक जनक चौधरी बताए ।
गाउँमा उत्पादित कृषिजन्य वस्तुको परिकारको स्वादमा रमाउन यहाँ पर्यटक आउने गरेका छन् ।
उक्त होमस्टेमा अन्यत्र भन्दा गाउँघरमै उत्पादित कृषिजन्य वस्तुको उत्पादन मात्र पाइने हुँदा पर्यटकको आकर्षण र रोजाइ बनेको हो ।
एक दिन र एक रातका लागि यहाँ नेपाली नागरिकलाई २ हजार २ सय र विदेशी नागरिकलाई ३ हजार ३ सय शुल्क कायम गरिएको छ ।
३६ जना युवा मिलेर ३५० रोपनी जग्गा खरिद गरी व्यवसाय सञ्चालन गरेका हुन् । विगत पाँच वर्षदेखि शुरु भएको सो व्यवसायमा ७ करोड बराबरको लगानी गरिएको सञ्चालक चौधरीले बताए ।
हाल त्यहाँ ३ सय कुखुरा, ३ बंगुर, २ भैँसी, १० हाँस, ८ गाई र ६० वटा बाख्रा पालिएको छ । होमस्टे र कृषि फार्ममा १२ जनालाई रोजगारी मिलेको छ ।
अब केही समयभित्र नै बाह्य पर्यटकलाई लक्षित गरेर व्यवस्थित खालको होमस्टे सञ्चालन गर्ने तयारीमा रहेको व्यवस्थापक चौधरीले बताए ।
होमस्टेमा एक दिनमा ३० जनासम्म बसोबास गर्न मिल्छ । यहाँ सञ्चालित होमस्टेका कारण गाउँमा उत्पादित कृषिजन्य वस्तु खपत गर्न सजिलो भएको छ । ग्रामीण कृषि उत्थानका लागि यहाँ सञ्चालित कृषि होमस्टेबाट ठूलो टेवा पुगेको छ ।
प्रतिकृया दिनुहोस