भदौ ३१ गतेसम्म रातको समयमा सडक बन्द
बेनी । बेनी–जोमसोम सडकमा भदौ ३१ गतेसम्म रातको समयमा यातायात सञ्चालन बन्द गरिएको छ ।
म्याग्दी र मुस्ताङ क्षेत्रमा पहिरो खस्ने र खोलामा पानीको सतहसमेत नघटेपछि यात्रुको सुरक्षाका लागि साउन ५ गतेदेखि भदौ १५ गतेसम्म रातको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको थियो ।
तोकिएको समयमा सवारीसाधन सञ्चालन गरे कारबाही गरिने जिल्ला प्रशासन कार्यालय, म्याग्दीले जनाएको छ । कुल ७६ किलोमिटरको सडकखण्डअन्तर्गत म्याग्दी र तल्लो मुस्ताङ खण्ड जोखिमपूर्ण छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा बसेको यातायात व्यवस्थापन समितिको बैठकले समय अवधिलाई भदौको अन्तिमसम्म थप गर्ने प्रस्तावमा सुरक्षा निकाय, यातायात व्यवसायीले समेत सहमति जनाएका थिए ।
बेनी–जोमसोम सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले म्याग्दी खण्डमा रघुगंगा गाउँपालिका १ बेगखोला, अन्नपूर्ण गाउँपालिका ३, गुँइठेभीर, घट्टेखोला, काभ्रेभीरमा खसेको पहिरो पन्छाउन निकै समस्या हुने गरेको बताए ।
गत वर्ष बेगखोलामा आएको बाढीले बस्ती र खोलाको बेलिब्रिज बगाए पनि सम्बन्धित निकायले खोलामा पक्की पुल बनाउनेतर्फ ध्यान नदिँदा सवारीसाधन र पैदलयात्रीलाई समेत सास्ती भएको स्थानीयवासीको भनाइ छ ।
सोह्रश्राद्धमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्न जाने तीर्थयात्रीलाई समस्या भएको छ भने मुस्ताङको स्याउ ढुवानीमा समेत समस्या भएको व्यापारीले बताएका छन् ।
प्रतिकृया दिनुहोस