के गर्लान् ८ जिल्लामा ६८ हजार सुरक्षाकर्मीले ?
उम्मेदवारी दर्ताका लागि सुरक्षा व्यवस्था कडा
काठमाडौं । तेस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण बनाउन सरकारले हदैसम्मको सुरक्षा अपनाउने भएको छ । त्यसका लागि सरकारले तराईका ८ जिल्लामा ६८ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।
सरकारले बुधबार हुने उम्मेदवारीलाई शान्तिपूर्ण बनाउन सबै जिल्लामा सुरक्षा सतर्कता अपनाएको छ । सबै जिल्लामा स्थानीय सुरक्षा समितिले सुरक्षा व्यवस्था कडा बनाएका छन् ।
आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि प्रदेश २ मा निर्वाचनको सुरक्षाका लागि प्रदेश २ का ८ जिल्लामा ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको निर्वाचन आयुक्त सुधिरकुमार शाहले बताए ।
बुधवार हुने उम्मेदवारी दर्ताको पूर्व सन्ध्यामा जिल्लाका १८ वटै स्थानीय तहको निर्वाचन स्थल तथा केन्द्रमा सुरक्षाकर्मीहरु परिचालन गरि सकिएको छ । ८ जिल्लामा कृयाशील सशस्त्र तथा आपराधिक समूहका व्यक्तिहरुलाई विशेष निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।
बुधबार हुने उम्मेदवारी दर्ता प्रक्रियाको क्रममा राजनीतिक दलहरुबीच हुन सक्ने हो–हल्ला तथा मुठभेड आदिलाई दृष्टिगत गरी अधिकांस जिल्लास्थित राजनीतिक दलहरुको लागि फरक फरक समय छुट्याइएको छ ।
सेना परिचालन
निर्वाचनमा भित्री घेरा नेपाल प्रहरी, मध्यम घेरा सशस्त्र प्रहरी र अन्तिम सुरक्षा घेराका लागि नेपाली सेना परिचालन गरिएको छ । यसैगरी नेपाली सेनाले नियमित गस्ती गर्ने गरी सुरक्षा ब्यवस्थापन मिलाइएको छ ।
भारतीय सिमासित जोडिएको मतदान केन्द्रहरुमा सुरक्षालाई थप व्यवस्थित बनाउन भारतीय अधिकारीहरुसँग पनि छलफल सुरु गरेको छ ।
मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी सुरक्षाकर्मी परिचालन गरिएको छ । आचारसंहिता अनुगमनका लागि प्रदेश २ का प्रत्येक जिल्लामा दुई जना सहसचिव खटाईएको छ ।
प्रतिकृया दिनुहोस