११ वर्षपछि जिब्रो छेड्ने जात्रा हुँदै
भक्तपुर । इन्द्रजात्राको भोलिपल्ट मध्यपुरथिमिमा जिब्रो मनाइने येँया पुन्हिया मेय् प्वाः खनेगु जात्रा यस वर्ष भने सञ्चालनमा हुने भएको छ । एघार वर्षपछि यस वर्ष सञ्चालनमा आउन लागेको जिब्रो छेड्ने जात्राको सम्पूर्ण तयारी पूरा भैसकेको छ ।
आर्थिक तथा विभिन्न कारणले लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीय युवाले यसलाई जोगाउन जात्रा सञ्चालन गर्ने भएका हुन् । यस वर्ष आउँदो २१ गते बुधबार मध्यपुरथिमि नगरपालिका ५ का २९ वर्षका वीरेन्द्रभक्त गजुश्रेष्ठले जिब्रो छेडेर यो जात्रालाई लोप हुनबाट जोगाउने हुनुभएको छ ।
जात्रालाई व्यवस्थित एवं मर्या्दित ढंगबाट सञ्चालन गर्न यँया पुन्हिया मेय् प्वाः खनेगु जात्रा व्यवस्थापन समिति गठन गरेर मध्यपुरथिमि नगरवासी तथा विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा जात्रा सञ्चालन गर्ने भएको हो । यसअघि २०५३, २०५९ र २०६३ सालमा गरी तीन पटक जिब्रो छेड्ने, जात्रा भैसकेको छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाको दिन बेलुका करिब ८ बजे थिमिकै दिगु टोलस्थित दिगुभैरब मन्दिर अगाडिको डबलीमा जिब्रो छेडाउने चलन छ । अध्यक्ष श्रेष्ठले जिब्रो छेड्ने जात्राको लागि करिब एक महिना अगाडिदेखि नै गरेको तयारी पूरा भएको बताए ।
जिब्रो छेड्न आठ दिनलाई द्यः दुसालेगु भन्ने गरिन्छ र त्यसदिन बालकुमारी मन्दिरमा एघार वटा किसली (माटोको प्यालामा चामल, सुपारी र सिक्का राखेको भाग) तथा रातो भालेको बलि दिएर बालकुमारीको साधना गर्नुपर्ने प्रचलन छ ।
दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरिन्छ । यो पूजापछि जिब्रो छेड्ने व्यक्तिमा दैवीशक्ति प्राप्त हुने जनविश्वास रहेको छ । जिब्रो छेड्ने व्यक्तिले नगरपरिक्रमा गर्दा “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दै सँगसँगै नगरपरिक्रमा गरिन्छ ।
जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पहिला चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमाका लागि लाने गरिएकामा अहिले भने थिमिको विभिन्न भाग मात्र परिक्रमा गर्ने भएको छ । बालकुमारी मन्दिरमा पुगेर कमी नायोले सुइरो निकाल्ने गरिन्छ ।
सुइरो निकालिसकेपछि जिब्रोमा भएको खालमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो राखेर सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ । त्यसपछि सगुन लिएर भोज खुवाउने र भोलिपल्ट बिहान बालकुमारीमा नातु पूजा भनी द्यःलित तवनेगु अर्थात् विसर्जन पूजा गरेपछि जात्रा सम्पन्न हुन्छ ।
प्रतिकृया दिनुहोस