विशिष्ट सांस्कृतिक पहिचानलाई जीवन्त राख्नुपर्छ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिमैत्री विकासको अवधारणालाई कार्यान्वयन गरी विशिष्ट सांस्कृतिक पहिचानलाई जीवन्त राख्नुपर्ने बताएकी छन् ।
जैविक विविधता, जलाधार क्षेत्र, जलवायु, नेपाली कला संस्कृति, मानव तथा वातावरणीय अधिकारबारे समावेश गरी तयार गरिएको गीतिसंग्रहको सिम नेपाल र राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समितिद्वारा यहाँ आज आयोजित कार्यक्रममा सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन।
सभ्यताको विकाससँगै हामीले पृथ्वीबाट निरन्तर महत्वपूर्ण लाभ लिइरहेका छौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, 'प्राकृतिक सम्पदाको अनियन्त्रित र अत्यधिक दोहनले वातावरणीय असन्तुलन बढ्दो छ, जलवायु परिवर्तन र वातावरण विनाशजस्ता जटिल समस्या उत्पन्न भइरहेका छन्, यसको नकारात्मक असर जैविक विविधता, हिमश्रृङ्खला, जलाधार र नदी प्रणालीमा परेको छ ।'
राष्ट्रपति भण्डारीले देश प्राकृतिक प्रकोपको उच्च जोखिमयुक्त क्षेत्रमा पर्ने भएकाले बाढीपहिरो र भूकम्पजस्ता विपत्तिबाट प्रभावित हुँदै आएको छ भनिन् ।
वातावरणलाई सन्तुलनमा राख्नसकेमा बाढीपहिरोको जोखिम नियन्त्रण र न्यून गर्न सकिने, उपयुक्त स्थानमा वैज्ञानिक ढंगले व्यवस्थित बस्ती विकास गरी प्राकृतिक विपत्तिको प्रभावलाई न्यून गर्नसके मानव जीवन सुखी र सम्पन्न बनाउन सकिने राष्ट्रपति भण्डारीको भनाइ थियो ।
'जीवनको स्रोत धरा हो, धराको संरक्षण नभएमा कसैको पनि कल्याण हुँदैन, उच्च हिमश्रृङ्खला, अद्वितीय सम्पदामा हाम्रो देशले दुर्लभ हिमचितुवा तथा बाघको संरक्षणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ'– राष्ट्रपति भण्डारीले भनिन्।
राष्ट्रपति भण्डारीले नेपालको अथाह सम्पदा नदी प्रणालीबाट विद्युत् उत्पादन गरी वातावरणमैत्री औद्योगिकरण, कृषिको आधुनिकीकरणसँगै सामाजिक र आर्थिक विकासको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।
राष्ट्रपति भण्डारीले पछिल्लो पटक मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गरिन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेसँगै ३६५ जना ख्यातिप्राप्त नेपाली गायक÷गायिका एवं संगीतकर्मी कलाकारले संग्रहका गीतमा स्वर दिनुभएको छ । संग्रहमा ३३ मिनेट ४९ सेकेण्डको वातावरणसम्बन्धी आधुनिक, लोक, पप लगायतका गीत रहेका छन् ।
राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समितिका अध्यक्ष वीरेन्द्र यादवले वातावरण जोगाउने अभियानअन्तर्गत सबै कलाकारको स्वरमा सजिएको वातावरणीय गतिविधिको संरक्षणसम्बन्धी श्रव्यदृष्य र गीति एल्बम सार्वजनिक गरिएको जानकारी दिइन् । कार्यक्रममा वातावरण संरक्षणमा योगदान पु¥याएबापत विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो ।
प्रतिकृया दिनुहोस