प्रदेश नं २ मा सहरदेखि गाउँसम्म चुनावी सरगर्मी बढ्दै

Election

जनकपुरमा बढ्यो चुनावी सरगर्मी

बाढीका कारण केही दिनअघिसम्म सुस्त देखिएका प्रदेश नं. २ का जिल्लामा अहिले चुनावी सरगर्मी बढेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी पनि सहभागी भएपछि चुनावी रौनक बढेको हो । जिल्ला निर्वाचन कार्यालय धनुषामा स्थानीय तहको निर्वाचनका लागि ३५ दल दर्ता भएका छन् । दलहरूले सबै उम्मेदवार टुंगो नलगाइसके पनि सडकलगायतका सार्वजनिक स्थल पार्टीका चुनाव चिह्न र झन्डाले झकिझकाउ भएका छन् ।

सर्वसाधारणमा उत्साह 
लामो समयसम्म स्थानीय तहको निर्वाचन हुन नसक्दा भ्रष्टाचार बढेको, कर्मचारीतन्त्र हाबी भएको तथा विकास निर्माण रोकिएको भन्दै निर्वाचनलाई आमजनताले पनि उत्साहपूर्वक हेरेका छन् । संविधान कार्यान्वयनका लागि पनि स्थानीय तहको निर्वाचन अनिवार्य रहेको नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष रामआशिष यादवले बताए ।

दलहरूलाई उम्मेदवार छनोटमा सकस 
उम्मेदवार छनोटमा दलहरूलाई सकस भएको छ । निर्वाचन आयोगले २१ भदौमा उम्मेदवारी दर्ताको मिति तोकेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपामा टिकटलाई लिएर आन्तरिक रूपमा तीव्र विवाद देखिएको छ ।

महोत्तरीमा निर्वाचनको सबै तयारी पूरा

जिल्लाको १५ वटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना भइसकेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए । कार्यालय स्थापना भएसँगै निर्वाचनको पूर्वतयारीको कार्य सुरु भइसकेको उनको भनाइ छ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले २५८ मतदानस्थलमध्ये अधिकांश निरीक्षण गरिसकिएको र बाँकीको निरीक्षण तीव्र गतिमा भइरहेको बताए । निरीक्षणपछि आवश्यकताअनुसारको सुरक्षा व्यवस्था मिलाइने उनको भनाइ छ । निर्वाचन भयरहित र स्वच्छ वातावरणमा सम्पन्न गर्न प्रशासन प्रतिबद्ध रहेको श्रेष्ठले बताए ।

सिरहाका गाउँगाउँमा निर्वाचनको रौनक
दलहरूले स्थानीय तह निर्वाचनका लागि सिरहामा राजनीतिक गतिविधि तीव्र बनाएका छन् । उम्मेदवारी दर्ताको मिति नजिकिँदै जाँदा दलहरूले प्रचार अभियानलाई गाउँगाउँसम्म पुर्‍याएका छन् । एमाले र संघीय समाजवादी फोरम उम्मेदवारसहित प्रचार अभियानमा जुटेका छन् ।

कांग्रेस र माओवादी केन्द्रले अझै उम्मेदवार छान्न सकेका छैनन् । दुवै पार्टीका जिल्ला नेतृत्व उम्मेदवार छान्नमै रुमलिएका छन् । आकांक्षी धेरै भएपछि कांग्रेसलाई उम्मेदवार छान्न सकस परेको छ । माओवादी केन्द्रले उम्मेदवार छानिसके पनि आन्तरिक विवादका कारण सार्वजनिक गर्न समस्या भएको स्रोतले जनाएको छ ।

सर्लाहीमा तात्यो चुनावी माहोल
निर्वाचनको मिति नजिकिँदै जाँदा सर्लाहीमा चुनावी माहोल तातेको छ । चोक, चौतारो, बजार, चियापसल सबैतिर चुनावी चर्चा तीव्र छ । झन्डै दुई दशकपछि हुन लागेको निर्वाचनमा जनप्रतिनिधि छान्न आममतदाता उत्साही देखिएका छन् । उनीहरू आफ्नो गाउँ तथा नगरको विकास गर्न सक्ने उम्मेदवार छान्न निर्वाचनको दिन कुरिरहेका छन् ।

दलहरू उम्मेदवार छान्न व्यस्त 
दलहरू स्थानीय तहको उम्मेदवार छान्न व्यस्त छन् । सर्लाहीमा एमालेले सबैजसो र माओवादी केन्द्रले लालबन्दी र ईश्वरपुरबाहेक सबै स्थानीय तहमा उम्मेदवार तय गरिसकेका छन् । भर्खरै कार्यान्वयनमा आएका पर्सा, बसबरिया र कौडेना गाउँपालिकामा भने यी दुई दलले उम्मेदवार छान्न बाँकी छ । कांगे्रस, राजपा नेपाल, संघीय समाजवादी फोरम, राप्रपा, फोरम लोकतान्त्रिकलगायत दलहरू उम्मेदवारको अन्तिम टुंगो लगाउन आन्तरिक छलफलमा छन् ।

निर्वाचनमय बन्दै रौतहट
राजपा निर्वाचनमा सहभागी भएसँगै जिल्लामा चुनावी माहोल बनेको छ । एक स्थानीय तहबाहेक एमालेले १६ नगरपालिका र दुई गाउँपालिकामा उम्मेदवार चयन गरेर चुनावी प्रचार अभियान थालेको छ ।

कांग्रेसमा विवादका कारण अहिलेसम्म उम्मेदवार छनोट हुन सकेको छैन । माओवादी केन्द्रले केहीबाहेक अन्य तहमा उम्मेदवार छनोट गरिसकेको जनाएको छ । संघीय समाजवादी फोरमले सात तहबाहेकका उम्मेदवार छनोट गरिसकेको छ ।

पर्सामा चुनावी सरगर्मी बढ्दै
पर्सामा चुनावी रौनक निकै बढेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, राप्रपालगायत दलहरू उम्मेदवारको चयनसँगसँगै चुनावी प्रचारप्रसारमा समेत व्यस्त छन् । प्रदेश नं. २ को एक मात्र वीरगन्ज महानगरपालिकामा प्रमुख दलले मेयरको टुंगो लगाइसकेका छन् ।

कांग्रेसले अजय द्विवेदी, एमालेले बसिरुद्दिन अन्सारी, माओवादी केन्द्रले रहवर अन्सारीलाई मेयरको उम्मेदवार बनाएका छन् । राजपाभित्र विमल श्रीवास्तवको नाम चर्चामा छ ।

सप्तरीमा माहोल तात्यो, तर उम्मेदवार टुंगिएनन्
सप्तरीमा चुनावी माहोल तात्दै गएको छ । नौ नगरपालिका र नौ गाउँपालिका रहेको जिल्लामा कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । तर, अहिलेसम्म सबै तहमा कुनै पनि दलले उम्मेदवार छान्न सकेका छैनन् ।

एमाले र संघीय फोरमले केही तहमा प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम सार्वजनिक गरेका छन् । अन्य दलले कुनै पनि तहका उम्मेदवारको नाम सार्वजनिक गरेका छैनन् । यद्यपि उम्मेदवारहरूको अन्तिम नामावली छिटै सार्वजनिक गर्ने नेताहरूले बताएका छन् ।

नयाँपत्रिकाबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...