संयुक्त राष्ट्र संघले ६ सय ३५ मिलियन अमेरिकी डलर अनुदान दिने
काठमाडौं । संयुक्त राष्ट्र संघ र नेपालबीच ५ वर्षे विकास सहायता संरचनामा समझदारी भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भेरिया जुलियान्ड र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। स्वर्णिम वाग्लेले ५ वर्षे विकास सहायता संरचनासम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपालको समावेशी आर्थिक वृद्धि, फराकिलो सामाजिक विकास, वातावरणीय र पर्यावरणीय क्षेत्रको विकास गरी विपद व्यवस्थापन र सुशासनको क्षेत्रमा संयुक्त राष्ट्र संघले पाँच वर्षसम्म मिलेर काम गर्नेगरी समझदारी भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. वाग्लेले जानकारी दिए ।
समझदारी अनुसार संयुक्त राष्ट्र संघ अन्तरगत संचालित सबै कार्यक्रमहरुले सो क्षेत्रको विकासका लागि आर्थिक सहायता उपलब्ध गराउनुपर्नेछ । नेपालमा हाल करिव २५ वटा संयुक्त राष्ट्र संघीय कार्यक्रमहरु संचालनमा रहेका छन । कार्यक्रमका लागि संयुक्त राष्ट्र संघले ६ सय ३५ मिलियन अमेरिकी डलर अनुदान सहायता उपलब्ध गराउने सहमति पनि गरिएको छ ।
पाँच वर्षे विकास सहायता संरचना सम्बन्धि समझदारीेले नेपालको विकासको दिशा निर्दिष्ट हुने लक्ष्य पनि लिइएको छ । कार्यक्रममा बोल्दै संयुक्त राष्ट्र संघकी आवासीय संयोजक जुलियान्डले नेपालको दिगो विकासका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेकी थिइन् । संयुक्त राष्ट्र संघले नेपालको समग्र विकासका लागि समुदायमा आधारित विभिन्न खालका कार्यक्रम संचालन गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस