तरकारीखेतीले फेरियो मुक्तकमैयाको दैनिकी
कञ्चनपुर । सरकारले पुनःस्थापना गर्दा उपलब्ध गराएको ५ कट्ठा जग्गा सम्पत्तिका रुपमा पाएका शुक्लाफाँटा नगरपालिका–९ का महादेव चौधरीसँग परिवार पाल्नका लागि मजदुरीमात्रै एउटै विकल्प थियो ।
त्यहीमध्येको तीन कट्ठा जग्गामा उहाँले तरकारीखेतीको शुरुवात गरे। तरकारीखेतीबाट चौधरीले ३ महिनामा २० हजार आम्दानी गरे ।
मजदुरी गरेर चौधरीले दैनिक २ सय मात्रै कमाइ गर्नुहुन्थ्यो । मजदुरीको तुलनामा तरकारीखेतीबाट बढी आम्दानी हुने भएपछि उनले व्यावसायिक तरकारीखेतीलाई अंगालेका हुन् । ‘तरकारीखेती गरेर परिवार पाल्न सहज भएको बताए ।
थोरै जग्गा भएपछि उनले वार्षिक १ लाख ८७ हजार तिर्ने गरी हाल एक बिगाहा १० कट्ठा जग्गा भाडामा लिई तरकारीखेतीलाई निरन्तरता दिए । तरकारीखेती गरेर उनले वार्षिक ८ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
बर्खायाममा काँक्रा, लौका, भिण्डी, करेला, बोडीलगायत तरकारीखेती गर्दै आएका चौधरीले हिउँदमा आलु, काउली, गोलभेँडा, खुर्सानी, भण्टा र हरियो तरकारीखेती गर्ने गर्छन् ।
६ जनाको परिवारको लुगाफाटो, अन्न र अन्य खर्च कटाएर केही रकम बैंकमा बचतसमेत गर्दै आएको उनको भनाइ छ ।
यस्तै विपद्राम चौधरीले तरकारीखेती गरी मासिक ६० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन् । गरिबी निवारण कोषबाट पहिलो वर्ष ३० हजार तरकारीखेतीका लागि ऋण लिएका चौधरीले २ लाख पहिलो वर्षमै आम्दानी गरेपछि उत्साहित हुँदै जग्गा भाडामा लिई तरकारीखेतीलाई विस्तार गरे ।
भूमि सुधार कार्यालयले पुनःस्थापन हुँदा उपलब्ध गराएको ५ कट्ठा जग्गासहित १० कट्ठा थप वार्षिक १० हजार तिर्ने गरी भाडामा लिएर तरकारीखेतीलाई उनले विस्तार गरे ।
हिउँदमा बन्दागोभी, काउली र गोलभेँडा बेचेर दैनिक २ हजार घरमै बसीबसी आम्दानी हुने र बर्खामा काँक्रा, लौका, तितेकरेला बिक्री गरेर १ हजार ५ सयदैनिक कमाइ हुने गरेको छ ।
तरकारी बेचेको रकमले छजना परिवारको खर्च कटाएर वार्षिकरुपमा २ लाख बैंकमा बचत गर्दै आएको उनले बताए । बैंकमा बचत भएको रकम परिचालन गरी पक्की घर निर्माण गर्ने सोच उनले बनाए ।
प्रतिकृया दिनुहोस