उपप्रधानमन्त्रीद्वारा इन्जिनियर्स एशोसियशन डिनको राष्ट्रिय सम्मेलनको उद्घाटन
इटहरी । नेपाल इन्जिनियर्स एशोसियशन डिनको दुई दिने राष्ट्रिय सम्मेलनले आजदेखि शुरु भएको छ ।
सार्क राष्ट्रका डिन नेता प्रतिनिधि समेतको सहभागितामा पहिलो पटक देशको राजधानी बाहिर इटहरीमा आयोजित सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले सिंहदरबारको अधिकार स्थानीय तहमा हस्तान्तरण हुने क्रममा रहेकाले त्यसका लागि डिनले ठोस योजनासहित नयाँ प्रविधियुक्त नीति समेत ल्याउन आग्रह गरे ।
उपप्रधानमन्त्री गच्छदारले भने “ नयाँ नेपाल निर्माण गर्ने क्रममा संविधानले नै स्थानीय तहमा प्रविधि र प्राविधिकसमेत परिकल्पना गरी सबै प्रकारका अधिकार उपलब्ध गराइ गाउँ तहबाट नै देश निर्माणको काम थालनी गरिने भएकाले यो कार्यमा सबै राजनीतिक दलहरुले समेत राजनीतिक स्वार्थ त्यागी राष्ट्र निर्माणमा एक ढिक्का भएर जुट्न म यस कार्यक्रममार्फत सबैमा आग्रह गर्दछु ।”
सो अवसरमा बंगलादेश डिनका सहअध्यक्ष एकेएमए हमिदले आफ्नो देशका प्रधानमन्त्री र सरकारले प्रविधिलाई उच्च प्राथामिकता दिएकै कारणले देशको समग्र विकासले उच्च प्राथमिकता प्राप्त गर्दैै आएकाले अब नेपालमा पनि त्यस प्रकारको नीति आउन जरुरी रहेको बताए ।
कार्यक्रममा भारत डिनका महासचिव मनमोहन राजवंशीले देश प्रविधियुक्त र प्राविधिक उत्पादनका लागि नयाँ नीतिसहित अघि बढ्ने कार्यमा राज्यले नै विशेष ध्यान नदिएसम्म देशको समग्र विकास अधूरो रहने तर्फ सबै सचेत बन्न आग्रह गरे ।
नेपाल इन्जिनियर्स एशोसियसन डिनका अध्यक्ष कामेश्वरप्रसाद सिंहको अध्यक्षतामा भएको सम्मेलन उद्घाटन समारोहमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटा सिटीइभिटीका उपाध्यक्ष डा कुलबहादुर बस्नेत, पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति प्रोफेसर डा.धनश्यामलाल दासलगायत उच्च पदस्थ कर्मचारीसमेतको सहभागिता रहेको छ ।
नेपाल डिनका पूर्व अध्यक्ष डा राजेन्द्रप्रसाद अधिकारीले संघीय संरचनामा भौतिक पूर्वाधारको विकास, सम्भावना र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गरे भने महासचिव विन्दिया कार्कीले डिनले गरेको क्रियाकलापबारे प्रकाश पार्नुभयो ।
प्रतिकृया दिनुहोस