खोजी तथा उद्धार कार्यमा उपयोगी सर्भिलेन्स रोवोट सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण
काठमाडौं । जिबिएस (गणेश बिक्रम सिंह) ग्रुप काठमाडौंले सशस्त्र प्रहरी बल नेपाललाई एउटा सर्भिलेन्स रोवोट प्रदान गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रम बीच सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठलाई सो ग्रुपका इन्जिनियर गणेश बिक्रम सिंह आले र इन्जिनियर यज्ञप्रसाद देवकोटाले उक्त रोवोट हस्तान्तरण गरे ।
विपद व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरी बल नेपालको भूमिका सराहनीय रहेको भन्दै सो ग्रुपले विपदमा विभिन्न बस्तुस्थितिका बारेमा जानकारी दिन सक्ने उक्त रोवोट एपीएफलाई प्रदान गरेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सो अवसरमा विपद लगायतका घटनामा खोजी तथा उद्धार कार्यमा यस्ता उपकरण उपयोगी रहने उल्लेख गर्नुहुँदै यस रोवोटको प्रयोगबाट सशस्त्र प्रहरी बल नेपालको व्यावसायीक कामकारवाहीमा सहयोग पुग्ने बताए ।
उनले उद्धार तथा मानवीय सेवा र सुरक्षा कार्यमा समेत यस किसिमको प्रविधि सहायकसिद्ध रहने विश्वास व्यक्त गर्नुहुँदै संगठनले उक्त रोवोटलाई सिर्जनात्मक ढंगबाट निरन्तर रुपमा प्रयोगमा ल्याइ नागरिकको सेवामा योगदान पु¥याइ रहने उल्लेख गरे ।
चितवनको कुरिनटारमा विपद व्यवस्थापन तालिम केन्द नै स्थापना गरेर संगठनले विपद व्यवस्थापनका लागि दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले बलले आफ्ना विभिन्न इकाईहरुमा विपद व्यवस्थापन टोली तैनाथ गरेको बताए ।
बलको प्रधान कार्यालयमा रहेको विपद व्यवस्थापन महाशाखाले विपद प्रकोपको अवस्थामा सरोकारवालाहरु सँग आवश्यक समन्वय र सहकार्य गरी कार्य गर्दै आएको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले भने ‘एपीएफलाई सहयोग गर्नु भनेको देश र जनतालाई सहयोग गरे सरह हो, जनस्तरबाट संगठनको कामको प्रसंशासहित हुने यस्ता सहयोगले हामीलाई दायित्व निर्वाहमा उर्जा मिल्छ ।
जिबिएस ग्रुपका इन्जिनियर यज्ञप्रसाद देवकोटाले नेपालमा भूकम्प लगायत अन्य विपदको अवस्थामा सशस्त्र प्रहरी बलको भूमिका उत्कृष्ट देखिएको बताउँदै सोही कारण आफूहरुले सो रोवोट प्रदान गरेको उल्लेख गरे ।
उनले उक्त रोवोट करीव २ लाख रुपैयाँको लागतमा तयार गरेको कुरा समेत उल्लेख गरे । इन्जिनियर देवकोटाले नेपाली बजारमा पाइने सामाग्रीहरुलाई उपयोग गरी बनाइएको उक्त रोवोट मुख्यतया खोज तथा अनुसन्धानको लागि उपयोगी रहेको चर्चा समेत गरे ।
करीव २ सय मिटर दुरीसम्म वायरलेस अपरेट गर्न सकिने सो रोवोटको प्रयोगले विपदस्थल, घटनास्थल र संकास्पद वस्तुस्थितिको बारेमा जानकारी हासिल गर्न सहयोग पुग्ने बताइएको छ ।
क्यामरा जडित सो रोवोट करीव ३ केजी तौलको रहेको छ । नेपाली इन्जिनियरहरुको समूहले उच्चस्तरीय प्रविधिको उपयोग गरी निर्माण गरेको सो रोवोटको प्रयोगबाट विपद व्यवस्थापन तथा अन्य सुरक्षा कार्यमा उपलब्धीमूलक सफलता हासिल गर्न सहज हुने चर्चा समारोहमा गरिएको थियो ।
प्रतिकृया दिनुहोस