बँदेलले मकै नष्ट गरिदिँदा कृषक चिन्तित
डडेल्धुरा । डडेल्धुरामा जंगली बँदेलले अन्नबाली खान थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।
जिल्लाको ग्रामीण क्षेत्रको जंगलमा बँदेलको संख्यामा वृद्धि भएसँगै स्थानीय बासिन्दाले लगाएको अन्नबालीमा क्षति गर्न थालेको छ ।
जिल्लाको अमरगढी नगरपालिका, अजयमेरु गाउँपालिका, भागेश्वर गाउँपालिका, नवदुर्गा गाउँपालिका लगायतका गाउँपालिकाका विभिन्न गाउँमा लगाइएको अन्नबाली खाएर जंगली बँदेलले क्षति गर्न थालेको छ ।
बर्सेनि अन्नबाली बँदेलले नष्ट गर्दा बजारबाट चर्को मूल्यमा अनाज खरिद गर्नुपर्ने बाध्यता रहेको अजयमेरु गाउँपालिका– १ का लक्ष्मी भण्डारीले बताए ।
बँदेलले मकै, भटमास, कोदोलगाएत तरकारी बाली खाएर क्षति गर्ने गरेको छ भने धानबालीलाई पनि नष्ट गर्न थालेकामा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
ग्रामीण क्षेत्रका जनताको मुख्य पेशा र जीविकोपार्जनको आधार बनेको खेती नै बँदेल तथा बाँदरले काम नलाग्ने गरी नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
मुख्यबालीका रुपमा वर्षामा मकै लगाउने भए पनि बँदेलले लगाएको सम्पूर्ण मकै नष्ट गरिदिएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको जीत पार्कीले दुखेसो पोखे ।
बाँदर र बँदेलले बालीनालीमा क्षति पु¥याएपछि किसान क्षतिपूर्तिको माग गर्दै जिल्ला कृषि विकास कार्यालयमा आउन थालेका छन् ।
क्षतिपूर्तिको माग गर्दै हालसम्म १सय निवेदन आएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ । क्षतिको प्रकृति हेरेर बढीमा १० हजारसम्म क्षतिपूर्ति दिइने जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ ।
केही वर्षदेखि जंगली बँदेलको चोरी सिकारी गर्नेको संख्यामा कमी र सामुदायिक वनको विकाससँगै बँदेलको संख्यामा वृद्धि भएको छ ।
जसका कारण खाना खोज्दै जंगली बँदेल खेतबारीमा आउने गरेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रतिकृया दिनुहोस