युद्धको घाउ : १२ वर्षपछि कंकाल खोजेर अन्तिम संस्कार
दैलेख । २०६२ सालमा तत्कालिन माओवादीले गरेको एकतर्फी तीनदिने युद्ध बिरामको अवधिमा तत्कालिन शाही नेपाली सेनाले सञ्चालन गरेको टाइगर ग्रुपबाट मारिएका आफन्तहरुको शव उत्खनन् गरी दाहसंस्कार गर्दै छन् । नारायण नगरपालिका – ३ कि रत्ना रेग्मीको ।
तत्कालिन नेकपा माओवादीका नगर इञ्चार्जका रुपमा कार्यरत् रहेका उदयप्रसाद रेग्मी ‘उत्तम’ को कंकाल निकाली उनी मारिएकै तिथिका आधारमा शुक्रबार हिन्दु परम्परा अनुसार १२ वर्षपछि दाह संस्कार गरिएको छ ।
युद्ध बिरामको घोषणा पश्चात उनी दैलेख सदरमुकामको कालीमाटीका आफन्त मयाराम कटुवालको घरमा बसेका थिए । २०६२ भदौ २१ को हरितालिका तीजको दिन परेको थियो ।
तत्कालिन शाही नेपाली सेनाले संचालन गरेको टाईगर ग्रुपले उदय रेग्मीसहित शुकुल सिंहलाई पक्राउ गरेका थियो । पक्राउ पश्चात उनीहरुको शरिरमा १९ राउण्ड गोली हानी मारेका थिए ।
पछि उनीहरुको हत्याको बिरोध भएपछि दोहोरो भिडन्तमा मारिएको भन्दै गलत हल्लासमेत चलाइएको पीडित परिवारले अहिलेपनि गुनासो गर्छन् ।
गोली हानी मारिएका सुकुल सिंहको परिवारले पनि गत वर्ष कंकाल लिएर धार्मिक विधिपूर्वक काजकिरिया गरेका थिए भने यो वर्ष उदय रेग्मीका परिवारले काजकिरिया गरेका छन् ।
शान्ति स्थापना पश्चात कैयन पटक आफूले काजकिरीया गर्नुपर्ने सोच राखेको भएपनि सेनाको डरले त्यस्तो गर्न नसकेको र अहिले सपनामा बारम्बार आफ्नो कागकिरीया गरिदिन श्रीमानले माग गरेपछि घर परिवार र गाउँ समाज सवैसँग गुहार मागेर किरिया गरेको उदय रेग्मीकी पत्नी रत्ना रेग्मीले बताईन् ।
मरेको १२ वर्ष पुग्दा पनि उनले लगाएका कपडाहरु जस्ताका तस्तै पाइएको थियो । शरीरको मासु गलिसकेको र टाउको देखि गोडासम्मकै सबै हड्डी मात्र पाइएको रत्नाले बताइन । अहिले माओवादी केन्द्रकी कोषाध्यक्षसमेत रहेकी रत्ना तथा मृतक उत्तमका २२ वर्षीय छोरा देबेन्द्र रेग्मीले किरिया गर्ने बताईन् ।
श्रीमान भूमिगत भएकै कारण रत्नालाई तत्कालिन साही नेपाली सेनाले ब्यारेकमै लगेर निर्मम कुटपिट गर्यो, राष्ट्रिय मानव अधिकार आयोगको टोलीले उनको उद्धार गरेर तीन महिनासम्म उपचार गरेको उनले जानकारी दिइन । मृतक उदयकै कारण उनका बुवाले पनि ६ महिना सेनाको यातना भोग्नु परेको उनी सुनाउँछिन् ।
अनाहकमै चरम यातना दिनेविरुद्ध अहिलेसम्म कुनै कारवाही हुन नसकेको र कुनै पनि राहत प्राप्त नभएको पीडित परिवारको गुनासो छ ।युद्धबिरामको समयमो समयमा तत्कालिन शाही नेपाली सेनाको टाइगर ग्रुपले गरेको सामुहिक हत्यासम्बन्धी अहिलेसम्म कुनै खोजविन नभएको आफन्तहरु गुनासो गर्छन् ।
प्रतिकृया दिनुहोस