हर्न बजाउने १ सय ७२ जना कारबाहीमा
चितवन । शहरी क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा भइसकेपछि हर्न बजाउने १ सय ७२ जनालाई कारबाही गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार यही भदौ १ गतेदेखि भरतपुर महानगरपालिकाको चक्रपथ क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।
सो क्षेत्र घोषणा गरिएसँगै ट्राफिक प्रहरीले १ हजार १ सय ५५ जनालाई सम्झाइबुझाइ पठाएको छ भने ५ सय ५७ जनाको प्रेसर हर्न नियन्त्रणमा लिएको छ ।
सोही क्रममा २ हजारप्रति प्रचारप्रसारका सामग्री वितरण गरिएको छ । काठमाडौँ र पोखरापछि चितवनको भरतपुर केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, नारायणगढ बजार हाइवे, आँपटारी र बाइपास सडक खण्डमा संकटकालीन अवस्थामा बाहेक हर्न निषेध गर्ने निर्णय भएको छ ।
भित्री सडकमा पनि हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो । चर्को आवाजका कारण स्वास्थ्यमा प्रत्यक्ष असर परेकाले सवारी साधनले हर्न बजाउन नपाउने गरी निर्णय गरिएको हो ।
निषेधित ठाउँमा हर्न बजाएमा पहिलो पटकलाई ५ सय, दोस्रो पटकलाई १ हजार र तेस्रो पटकका लागि १ हजार ५ सय जरिवाना असुल गरिने छ ।
प्रतिकृया दिनुहोस