घरसगैं श्रीमती र छोरी बगे छिमेकीको घरमा बसेर किरिया बार्दै

Kiriyaputri

झापा । झापा गाउँपालिका ३ सिमलबारीका टेकबहादुर दर्नाल अहिले दोहोरो पीडामा छन् । गत शुक्रबार राति कन्काई नदीमा आएको बाढीले ३५ वर्षीय श्रीमती कमला र ३ वर्षकी सानी छोरी खुसीलाई लुटेर लग्यो ।

आमा–छोरीसँगैसँगै घर पनि बग्यो । दर्नाल अहिले बेघर भएका छन् । बेघर उनी नातेदारको आश्रयमा छन् ।

मेचीनगर १२ खहरेडाँगीस्थित आफन्त शरमान बराइली को घरमा उनले श्रीमती र छोरीको काजकिरिजा गरिरहेका छन् ।

‘घर बगाउँदा केही थिएन, तर श्रीमती र छोरी नै वगाउँदा पीडा सहनै गाह्रो भइरहेको छ, आइतबारदेखि श्रीमती र नाबालिका छोरीको किरियामा बसेका टेकबहादुर भक्कानिए,‘ यस्तो पीडा कसैले भोग्नु नपरोस् ।’

गत शुक्रबार राति घनघोर वर्षा हुँदा टेकबहादुर श्रीमती र सानी छोरीसँगै घरमा थिए । मध्यराति कन्काईको बाढी गाउँ पस्यो ।

परिवारका तीनै जना ज्यान जोगाउन हत्तपत्त उठे । छिमेकमा गुहार मागे । तर, छिमेकी पनि ज्यान जोगाउन घर छाडेर भागिसकेका रहेछन् ।

‘श्रीमतीले घर छेउको गोठमा बाँधेको गोरु फुकाएर आउनु पर्खिएर बस्छु भनेकी थिइन्’, टेकबहादुरले घटनाको बेलीबिस्तार लगाए,‘गोरु फुकाएर आउँदा न श्रीमती थिइन्, न छोरी नै ।’

टेकबहादुर गोरु फुकाउन गएकै बेला कन्काईको भेल घरमा पसेछ । अनि आमा–छोरीलाई बगाएछ । उनको ज्यान संयोगले बच्यो ।

मध्यरातमा बगाएका आमा–छोरीलाई खोजी हेरे । तर, भेटेनन् । ‘मलाई पनि ज्यान बचाउन हम्मे पर्‍यो, टेकबहादुरले सुनाए, ‘धन्न, कसो कसो गरेर म चाहिँ बाँचेछु ।’ उनले अलि कम पानी भएको स्थानमा उभिएरै रात कटाए ।

बिहान छरछिमेकको सहयोगमा श्रीमती र छोरीलाई खोज्दै जाँदा घरदेखि करिव ३ किलो मिटर दक्षिण शव फेला पारे । वाढीले किनारा लगाएर छाडेको अवस्थामा । पानी परिरहेकै थियो ।

सुरक्षाकर्मीहरु पुग्न सक्ने अवस्था थिएन । वर्षा कम भएपछि वाढी पनि घट्यो त्यसपछि प्रहरीको सहयोगमा शव पहिचान गरेर ल्याए । आइतबार आमा–छोरीको एउटै चितामा सद्गत गरे ।

नेपाल रेडक्रस सोसाइटी विपद व्यवस्थापन विभाग आपतकालिन कार्यसञ्चालन केन्द्र भद्रपुरका अनुसार झापामा ४ दिनको वर्षापछि आएको वाढीले १२ जना सर्वसाधारणको मृत्यु भएको छ ।

३ जना अझै बेपत्ता छन् । राजमार्गका र राजमार्ग दक्षिणका ७ नगर र ६ गाउँपालिकाका करिव २ हजार १९ परिबार प्रभावित भएका छन् । १ हजार ८ सय ९६ परिवार विस्थापित बनेका छन् भने १२ परिवारको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...