टेलिकमले सत्र प्रतिशत ग्राहक थप गर्ने
काठमाडौँ, । मुलुकको दूरसञ्चार बजारमा देखिएको प्रतिस्पर्धात्मक वातावरणमा बजार हिस्सा अभिवृद्धि गर्नुका साथै सेवाको गुणस्तर सुदृढ गर्ने कार्यलाई प्राथमिकता दिन नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०७४÷७५ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।
उपभोक्ता वर्गको अपेक्षाअनुरूप दूरसञ्चार सेवा प्रदान गर्ने कार्यलाई प्राथमिकता दिन चालु आवमा विभिन्न कार्यक्रममार्फत टेलिकमले आफ्नो सेवा विस्तारतर्फ १७ प्रतिशत ग्राहक थप गर्ने लक्ष्य लिएको छ ।
कम्पनीको सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणका लागि करिब रु २२ अर्ब पूँजीगत लगानी गर्ने योजना रहेको टेलिकमले जनाएको छ ।
सत्र प्रतिशत ग्राहक थप गर्ने उद्देश्यअनुरूप टेलिकमले चालु आवमा मुलुकभर गुणस्तरीय जिएसएम सेवा उपलब्ध गराउने लक्ष्यसहित एक वर्षभित्र एक करोड जिएसएम प्रोजेक्टअन्तर्गतका कार्य सम्पन्न गर्ने भएको छ ।
सो सेवाबाट मुलुकका अति विकट तथा दुर्गम स्थानमा समेत जिएसएम सेवा विस्तार हुने टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन् ।
हालसम्म पुरानो प्रविधिमा आधारित ल्याण्डलाइन सेवाबाट सञ्चालित आधारभूत टेलिकम सेवा पिएसटिएन मध्ये काठमाडौँमा १४ वटा तथा काठमाडौँ बाहिरका क्षेत्रमा १५ वटा एक्स्चेन्जमा जम्मा ३९ हजार ३ सय ३६ लाइनलाई नयाँ प्रविधिमा प्रतिस्थापन गरी केही समयभित्रै कुल १ लाख ३४ हजार लाइन क्रमिकरूपमा प्रतिस्थापन गर्दै लैजाने टेलिकमले जनाएको छ ।
त्यसैगरी टेलिकमले चालु आवमा इन्टरनेट सेवाको माग बढ्दै गएकाले आगामी दिनमा डाटा सेवाको विस्तार गर्न वायरलाइन तथा मोबाइल डाटा सेवालाई अझ बढी सुविधा र सहजताका लागि ग्राहक माझ प्रस्तुत गर्ने भएको छ ।
राजभण्डारीले भनिन् ‘ग्राहकको चाहनाअनुरूप नयाँ–नयाँ डाटा प्याकेज बजारमा ल्याई डाटा सेवाबाट कम्पनीको आम्दानी बढाउन पहल हुनेछ,’ ।
‘मोबाइल डाटा सेवातर्फ विभिन्न सेवा शुरु भइसकेको र भविष्यमा अन्य सेवासमेत शुरु गर्नुका साथै मोबाइल वित्तीय सेवा यथाशीघ्र शुरु गर्न गृहकार्य भइरहेको छ ।’
दूरसञ्चार पूर्वाधार निर्माणतर्फ भने ग्रामीण दूरसञ्चार कोषमार्फत पहाडी जिल्लामा अप्टिकल फाइवर परियोजना कार्यान्वयनका क्रममा रहेको छ ।
टेलिकमले वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालमा फ्री वाइफाई सञ्चालन गरेको छ । सबै सेवामा ग्राहकको गुनासो, इन्क्वारी, जानकारीलाई एकीकृत गरी छिटो तथा सरलरूपमा सेवा प्रदान गर्न अत्याधुनिक ग्राहक सम्पर्क कक्ष सञ्चालनलाई विस्तारित र प्रभावकारी बनाउने टेलिकमको योजना छ ।
आगामी छ महिनाभित्रमा देशभरि दूरसञ्चारको सम्पूर्ण सेवालाई एकद्वारमुखी ग्राहक सेवा प्रणाली ग्राहक सम्बन्ध व्यवस्थापनमार्फत प्रदान गरिने राजभण्डारीको भनाइ छ ।
चालु आवमा टेलिकमको आम्दानी ४४ अर्बभन्दा बढी हुने अनुमान गरिएको छ भने करपछिको मुनाफा १५ अर्बभन्दा बढी हुने अपेक्षा गरिएको छ ।
विसं २०७४ जेठ मसान्तसम्ममा कम्पनीको टेलिफोन ग्राहक आधार १ करोड ७४ लाख ४२ हजार ९ सय २२ रहेको छ । इन्टरनेट ग्राहक आधार २०७४ जेठसम्ममा ८३ लाख ९५ हजार पुगेको छ ।
आव २०७३÷७४ मा कम्पनीको भोवाइस सेवाको ग्राहक आधार १७ प्रतिशत वृद्धि भई टेलिघनत्व ६२ प्रतिशत पुगेको छ ।
डाटा सेवाका ग्राहक ११ प्रतिशतले वृद्धि भई डाटा घनत्व करिब ३० प्रतिशत पुगेको छ । टेलिकमले पछिल्लोपटक देशका विभिन्न स्थानमा बाढी पहिरोबाट पीडित भएकाको उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग पु¥याउनका लागि आइतबारदेखि मंगलबारसम्म आफ्नो नेटवर्कभित्र निःशुल्क एसएमएस सेवासमेत उपलब्ध गराउने भएको छ ।
प्रतिकृया दिनुहोस