मृतकको परिवारलाई दुई लाख दिने सरकारको निर्णय
मन्त्रीको एक महिनाको तलब बाढीपीडितलाई
काठमाडौं । सरकारले बाढीपहिरोबाट मृत्यु हुने मृतकका परिवारलाई राहतस्वरूप २ लाखका दरले उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट पीडित भएकालाई तत्काल रेस्क्यु गर्ने, उद्धार र राहत कार्यक्रमलाई प्रभावकारी बनाउँदै मृतकका परिवालाई दुई लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले बाढीपीडितका लागि मन्त्रीहरूको एक महिनाको तलब राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको छ । देउवा सरकारमा २७ मन्त्री छन् ।
प्रभावित क्षेत्रमा तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना
बाढीबाट प्रभावित क्षेत्रमा तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर पुनस्र्थापनालगायतका विभिन्न कार्य अघि बढाउने बैठकले निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री जनार्दन शर्माले आइतबारसम्म तराई र पहाडका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोमा परी ६६ जनाको मृत्यु भएको, सयभन्दा बढी हराइरहेको, दशौँ हजार नागरिक विस्थापित भएको र कैयौँ घरमा क्षति पुगेको जानकारी गराएका थिए ।
बैठकले मंगलबारदेखि नै देशभरका बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यक्रमलाई युद्धस्तरमा अगाडि बढाउने र सरकारका सबै संयन्त्र आवश्यकताअनुसार एकैसाथ परिचालन गर्ने निर्णय गरिएको सामान्य प्रशासनमन्त्री बस्नेतले जानकारी दिए ।
बैठकले बाढीपहिरोबाट विस्थापित भएका र खान नपाएकाका लागि तत्काल खाद्यान्नलगायत सामग्री जिल्लामा पुर्याउन केन्द्रीय दैवी प्रकोप उद्धार समिति तथा जिल्लास्तरीय दैवी प्रकोप उद्धार समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।
नयाँ पत्रिका दैनिकबाट
प्रतिकृया दिनुहोस