पश्चिम तराईमा बाढीको प्रभाव बढ्दै

बाँके, बर्दिया र कैलाली आधा भाग डुबानमा

Kailai duban

काठमाडौं । केही दिनदेखि जारी अविरल वर्षाले कैलालीका अधाभन्दा बढी भू–भाग डुबानमा परेका छन् ।

भारी वर्षासँगै आएका बाढीले कैलालीको टिकापुर, भज्नी, घोडाघोडी, लम्कीचुहा नगरपालिका तथा जोसीपुर, जानकी गाउँपालिकालगायत कैलालीका दक्षिणी डुबानमा परेको छ ।

अविरल वर्षा जारी रहेकाले मानिसहरु सुरक्षित स्थानको खोजीमा लागेका छन् । टीकापुर इलाका प्रहरी कार्यालय समेत डुबानमा परेपछि प्रहरीहरु डुंगामा चढेर सुरक्षित स्थानतर्फ लागेका छन् ।

घोडाघोडी नगरपालिकास्थित कान्द्रा नदीको आसपासका बासिन्दाले बर्षेनी भोग्दै आएको बिपद नौला होइन । प्रत्येक वर्ष डुबान पर्ने र धेरै धनजनको क्षती हुने गरेको छ ।

बाढीले कान्द्रा नदीमा बनाइएको तटबन्धन पनि भत्काएको छ । कान्द्रा नदीको कटान नियन्त्रण गर्न सडक डिभिजन कार्यालय कञ्चनपुरमार्फत २ करोड ४० लाख रुपैया खर्चेर १ किलोमिटरको दुरीमा तटबन्धन बनाएको थियो ।

यसैबीच बाढीले पूर्व–पश्चिम राजमार्गको राप्ती सोनारी गाउँपालिकाको गन्धैली खोलाको पुल भत्किएको छ । सोही राजमार्गमा पर्ने परुवा खोलाको पुल पनि भाँचिएको छ ।

नदी र खोलाहरुमा आएको बाढीले बर्दियाका पाँच हजार घर परिवार डुबानमा परेका छन् । बाढीका कारण बर्दियामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

लगातारको वर्षाले बर्दियाको जनजीवन पनि प्रभावित भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका २ सतघरुवा निवासी ७० वर्षीया साहुनी थारु र बारबर्दिया नगरपालिका १० गन्दर्भटोलका राजेन्द्र थारुको मृत्यु भएको छ । साहुनीको डुबानमा परेको घर भत्किएर र राजेन्द्रको नदीबाट दाउरा निकाल्ने क्रममा मृत्यु भएको हो ।

बाढीका कारण सदरमुकाम गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिका बढी प्रभावित बनेका छन् ।

यसैबीच गृहमन्त्री जनार्दन शर्मा आइतबारै बर्दियाका बाढी प्रभावित क्षेत्र निरीक्षण गरेर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...