बाढी पहिरो प्रभावित जनताको राहत तथा उद्धारमा खट्न अध्यक्ष दाहालको निर्देशन
काठमाडौँ, २९ साउन । नेकपा माओवादी केन्द्रले बाढी प्रभावित जनताको राहत तथा उद्धारमा सम्पूर्ण शक्तिका साथ परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिई उनीहरुलाई सुरक्षित स्थानमा उद्धार गर्न र राहतको प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरेको छ । माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले पनि बाढी तथा पहिरोपीडित नागरिकको उद्धार तथा राहत वितरणका लागि खट्न आग्रह गरेको छ ।
प्रेस विज्ञप्तिमार्फत प्राकृतिक विपद्को यस अवस्थामा केही दिनदेखिको अविरल वर्षाका कारण देशव्यापी रुपमा ठूलो जनधनको क्षति भएको र बाढीपहिराका कारण राजमार्ग तथा अन्य सम्पर्क सञ्जालसमेत अवरुद्ध हुन पुगेकाले नागरिकको जीउधनको रक्षा गर्न, पूर्वप्रधानमन्त्री दाहालले सरकारमा सहभागी भएका पार्टीका मन्त्रीलाई पनि नागरिकको उद्धार र राहत वितरणमा सक्रियताका साथ लाग्न र परिचालित हुन आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।
वाइसिएलका नेता रामप्रसाद सापकोटाले वाइसिएलका सम्पूण समिति तथा सदस्यलाई पूर्ण इमान्दारीका साथ परिचालित हुन आग्रह गरेको जानकारी दिएको छ । अनेरास्ववियु क्रान्तिकारीले पनि बाढी तथा पहिरोपीडितको राहत तथा उद्धारमा खट्न नेता तथा कार्यकर्तालाई आग्रह गरिसकिएको अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस