सरकारी कर्मचारीसहित ९ जना जुवाडे पक्राउ
डडेल्धुरा, । अमरगढी नगरपालिका–५ कीर्तिपुर नजिकै रहेको मित्र होटेलबाट ९ जुवाडे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
शनिबार जुवा खेलिरहेको अवस्थामा जिप्रका डडेल्धुराको विशेष टोलीले उनीहरुको साथबाट ४ हजार ७० समेत फेला पारेको हो ।
पक्राउ पर्नेमध्ये अधिकांश व्यक्ति जिल्लाका सरकारी कार्यालयका कर्मचारी रहेको नायब उपरीक्षक शाहीले जानकारी दिए । जुवाडेलाई प्रहरीले नियन्त्रणमा राखी थप अनुसन्धान थालेको छ ।
चाडपर्व नजिकिएसँगै डडेल्धुराको बागबजारमा खुलेआम जुवातास खेल्ने र खेलाउनेको संख्या बढेको पाइन्छ । पछिल्लो समयमा प्रहरीले जुवातास नियन्त्रणमा सक्रियता बढाएको छ ।
जिप्रका डडेल्धुराले जिल्लाका विभिन्न स्थानमा दैनिक भइरहेको लाखौँको जुवातास नियन्त्रणमा आफ्नो सक्रियता बढाएको हो । जिल्लाका विभिन्न स्थानमा दैनिक सादा पोशाकका प्रहरी खटाइएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।
जिल्लाका ग्रामीण भेगमा रहेका प्रहरी चौकीलाई पनि जुवातास नियन्त्रणमा आफ्नो सक्रियता बढाउन निर्देशन दिइएको जिप्रका डडेल्धुराले जनाएको छ ।
प्रतिकृया दिनुहोस