बाढीले २४ घण्टामा ३० को मृत्यु
उद्धारमा लाग्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । अविरत बर्षापछि आएको बाढी र पहिरोमा २४ घण्टामा देशभर ३० जनाको मृत्यु भएको छ भने दर्जनौ बेपत्ता भएका छन् ।
दुईदिनयता निरन्तर रुपमा आएको भीषण बाढीले पाँचथरमा ३, झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभरी करिब ३० जनाको मृत्यु भएको छ ।
गृहमन्त्रालयका अनुसार त्यस्तै कयौं वेपत्ता छन् । उनीहरुको खोजी कार्य पनि जारी छ । त्यस्तै बाढीले हजारौं विगाहा जमिन जलमग्न भएको छ । दर्जनौ घर बगाएको छ ।
तत्काल उद्धारमा लाग्न निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र पीडितलाई राहत उपलब्ध गराउन सम्बन्धित जिल्लाका स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले शनिबार बिहानै बाढि पहिरो प्रभावित जिल्लाका प्रशासन प्रमुखलाई सम्पर्क गरी विपतको चपेटामा परेका नागरिकलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरण लगायत सबै प्रकारको सहयोग प्रदान गर्न निर्देशन दिएका हुन् ।
यसैबीच गृहमन्त्री जर्नादन शर्माले पनि बाढी पहिरोको प्रकोपमा परेकाहरुको उद्दार कार्य तीव्र पार्न निर्देशन दिएका छन् । शनिबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृहमन्त्रीले शर्माले गृहमन्त्रीले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई उद्दारमा खटिन पनि निर्देशन दिएका छन् ।
गृह मन्त्रालयले अविरल बर्षा भएका जिल्लाका प्रशासन कार्यालयहरुलाई हाई अलर्टमा राखिएको छ । गृह मन्त्रालयले विपतमा प्रयोग गर्नेगरी नेपाली सेनाका दुई हेलिकप्टर तयारी हालतमा राखेको छ । आपतकालीन अवस्थामा निजी कम्पनीका हेलिकप्टर पनि परिचालन गर्न सकिने गृह मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस