बाढीको बबण्डर
सुनसरीमा ६ र बारामा १ जनाको मृत्यु, तराईका क्षेत्र डुबानमा
काठमाडौं । गएरातीदेखि आएको अविरल बर्षाका पूर्वका विभिन्न स्थानमा ६ जनाको मृत्यु भएको छ भने तराईका गाउँ डुबानमा परेका छन् ।
रातीदेखि आएको अविरत वर्षाले सुनसरीको इटहरीमा मात्र ६ जनाको मृत्यु भएको छ ।
अहिले पूर्व क्षेत्रमा अविरत वर्षा भइरहेका कारण उद्धार कार्यमा कठिनाई भएको छ । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी उद्धार कार्यमा जुटेका छन् ।
पूर्व क्षेत्रीय प्रहरीका अनुसार इटहरी ३ गैरीगाउँकी ३० वर्षीय माला शाह र उनकी छोरी सिठी, भोजपुर घोरेटार घर भई इटहरी ४ मा बस्ने माला राई र उनका ३ वर्षीया छोरा रुपेश र ८ वर्षकी छोरी रुपसनीको मृत्य’ भएको छ ।
बाढीले बस्ती बगाएपछि हताहतीको संख्या थप बढ्ने अनुमान गरिएको छ । मोरङ र सुनसरी हुँदै बग्ने बुढी खोला, इटहरीको ट्याँग्रा खोला, मोरङको गछिया खोलामा ठुलो बाढी आएका कारण धेरै व्यक्तिको हताहती भएको हुनसक्ने अनुमान गरिएको छ ।
तराईमा बाढीका कारण सयौं घर डुबानमा परेका छन् । वर्षा नरोकिएका कारण घरभित्र पानी पसेको छ । जसका कारण धेरै जनधनको क्षति भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
अविरल वर्षका कारण विराटनगरका अधिकांश स्थान डुवानमा परेका छन् । पानीको निकास नहुँदा मुख्य राजमार्गलगायत बजार क्षेत्र नै डुवानमा परेको हो । राजमार्ग क्षेत्र मुनाल पथ महेन्द्र चोकलगायत स्थानका सडक जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ ।
माडीका बस्ती डुबानमा
अविरल वर्षाका कारण चितवनको माडीका बस्ति डुवानमा परेको छ । पानी परेपछि बढेको रिउ खोला बस्तीमा पसेको हो । माडी नगरपालिकाको वडा नम्बर १, २, ४, ६ वडाका घरहरु डुवानमा परेका हुन् ।
रिउ खोलाको सतह बढेर खतराको संकेत नाघेको थियो । ३.८४ लाई सामान्य सामान्य ५.१० सेमिमा पुगेको थियो ।
बारामा पनि उस्तै
लगातारको वर्षाले घर भत्किदाँ बारामा १ जनाको मृत्यु भएको छ ।
आज बिहान घर भत्किँदा सिम्रौनगढ नगरपालिका ८ कचोर्वाका रामविलास पासवानकी पत्नी ४५ वर्षीया गहनीदेवी पासवानको मृत्यु भएको प्रहरी प्रवक्ता दिलिफ घिमिरेले बताए ।
वर्षाका कारण बाराको जनजीवन प्रभावित भएको छ । सहरदेखि गाउँ जलमग्न भएको छ । महागढीमाई नगरपालिका वडा नं. ६ पिपराविर्ता निवासी पन्नालाल दास, सामजी दास र शंकर दासको घर पनि लगातारको वर्षाले भत्किएको छ भने थलही खोलामा आएको वाढीले धान लगाइएका सैयौ विगाहा खेत कटान गरेको स्थानीय रामबाबु यादवले बताए ।
जल तथा मौसम विज्ञान विभाग सिमरास्थित फिल्ड कार्यालयका प्रमुख केशव घिमिरेका अनुसार तीन दिनयता १ सय ४९ दशमलव ४ मिमि वर्षा भएको छ । यसवर्षको मनसुनमा अहिलेसम्कै उच्च वर्षा भएको उनले बताए । वर्षाले तापक्रम घटाएको छ । बिहीबार ३० दशमलव ५ र शुक्रबार २९ डिग्री सेल्सियस तापक्रम मापन भएको उनले बताए ।
अविरल वर्षाले विद्यार्थी विद्यालय जान पाएका छैनन् । गाउँका कच्ची सडक तहसनहस भएपछि सावारी आवागमन ठप्प भएको बस व्यवसायी संघका विक्रम पटेलले बताए । सदरमुकामबाट गाउँमा ओहोरदोहोर गर्ने बसहरु चलेका छैनन् ।
दाङमा बबईको बबण्डर
दाङको बबई नदीमा आएको बाढीले तुलसीपुर उपमहानगरपालिकाका केही बस्ती डुबानमा परेका छन् । बबई नदीको बाढीले बखरिया, गोल्टाकुरीको कलम खोला, मोतिपुर, बाँकी गाउँ लगायतका स्थानमा बबई नदीको बाढी पसेको छ ।
अबिरल वर्षापछि आएको बाढीले घोराही तुलसीपुर सडकखण्डमा पर्ने खोलाहरुमा आएको बाढीले गाडी चल्न सकेका छैनन् ।
घोराही–तुलसीपुर सडक खण्डको हात्ती खौवा र मोतिपुर बीचमा पर्ने खोलामा आएको बाढीले कल्भर्ट बगाएको छ । कल्भर्टसँगै बाटो बगाएकाले तुलसीपुर घोराही आवत जावत गर्ने गाडी र तिनमा सवार यात्रुहरु अलपत्र परेका छन् ।
प्रतिकृया दिनुहोस