खाँडोमा बाढी १ बेपत्ता, बाँध कटान तीव्र
सप्तरी । पूर्वी पहाडी जिल्लामा २ दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीको खाँडो खोलामा बिहीबार आएको बाढीले राजविराज नगरपालिका–१५ स्थित देउरी भरुवामा निर्माण गरिएको बाँध कटान गरेको छ । यसै वर्ष खाँडो खोला आयोजनाद्वारा सो बाँध निर्माण गरिएको हो ।
यसैबीच बिहीबार आएको बाढी नियन्त्रणमा खटिएका एक स्थानीय बासिन्दा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
देउरीभरुवामा बाँध कटान गर्न थालेपछि नियन्त्रणमा प्रहरी र नेपाली सेनासँगै लागेका स्थानीयवासी ६० वर्षीय डोमी यादव बाँधको ढिस्कोमा पुरिएर बेपत्ता भएका हुन् । उनी खोलामा बेपत्ता रहेकाले सेना, प्रहरी र स्थानीयवासीले खोजी जारी राखेको छ ।
राजविराज नगरपालिका–१०, बिरौल भन्ने स्थानमा बाढीले बिहीबार बाँध भत्काएको छ । खाँडो खोलाको बालुवा र माटोले बनाइएको बाँधलाई कटान गरेर बस्तीमा पस्ने डरले स्थानीयवासी त्रस्त भएका छन् ।
स्थानीय बासिन्दा अहिले सुरक्षित स्थानको खोजीमा लागेका छन् भने बाँध भत्काएसँगै राजविराजको विरौल, डुम्रीशिवथान, कजोली, दिघवा, तोपा, मनसापुर, सकरपुरा, लोनीया, तिलाठी लगायतका गाउँ डुबान पर्ने खतरामा रहेको छ ।
त्यसैगरी, मोहुली खोलामा समेत बाढी आएका कारण स्थानीय बासिन्दा चिन्तित भएका छन् । यसैबीच, कोशी नदीमा आएको बाढीका कारण पानीको बहाव तीव्र भएपछि कोशी ब्यारेजमा रहेको ५७ ढोकामध्ये ३० खुला गरिएको छ ।
कोशी नदी नजिकै रहेको सुनसरीको हुपुर, श्रीपुर, पश्चिम कुशाहा लगायतका ग्रामीण क्षेत्र जलमग्न भएको छ । पूर्व–पश्चिम राजमार्गको सडक छेउमा समेत पानी पसेको स्थानीय बासिन्दाले जनाएका छन् ।
प्रतिकृया दिनुहोस