भोटेकोशीको लार्चामा तुइन निर्माण
सिन्धुपाल्चोक, । एक साताअघि झरेको पहिरोले भोटेकोशी नदीको लार्चा पुललाई क्षति प¥याएपछि आवतजावतमा कठिनाइ व्यहोरिरहेका स्थानीयवासीलाई तुइन निर्माण भएपछि केही सहज भएको छ ।
अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने ७० मिटर लामो पक्की पुल बगाएपछि तातोपानीवासीले व्यहोर्नु परेको सास्ती तुइन निर्माणपछि आवागमनमा केही सहज भएको हो ।
बगाएकै ठाउँमा फड्के राख्न फलामे सत्तरी राख्ने काम तीव्र गतिमा भइरहेको छ । पुलको जिपसम्म ९० मिटर लामो फड्के राख्नुपर्ने र सहज रुपमा वारिपारि गर्न दायाँबायाँ बारसमेत राख्ने व्यवस्था मिलाइएको छ । सो काम मंगलबारसम्म सम्पन्न हुनेछ ।
सशस्त्र प्रहरी सीमा सुरक्षाका प्रहरी नायब निरीक्षक पिटर श्रेष्ठका अनुसार विकट बाटो ५ घण्टासम्म पैदल हिँडेर पुग्ने गरेकामा शनिबारदेखि तुइनबाट आवतजावत शुरु भएको छ ।
अझै पनि वृद्धवृद्धा, बालबालिका र बिरामीलाई तुइनबाट वारपार गर्न कठिनाइ भइरहेको छ । उक्त दुवै कामका लागि नेपाल प्रहरी, सशस्त्र सीमा प्रहरी र गाउँपालिकाको सक्रियता रहेको छ ।
भोटेकोशी गाउँपालिका वडा नं २ र ३ को तातोपानीमा करिब २ हजार ५०० बासिन्दा रहेकामा तुइन बनेपछि १ हजार ५ सय वासिन्दा राजधानीलगायतका ठाउँमा गइसकेका छन् ।
अन्यत्र गएर बस्न नसक्ने निर्धन र निमुखा मात्र हाल त्यहाँ रहेको प्रमुख पौडेलले बताए । भूकम्पले चिरा परेका र हालको पहिरोका कारण तातोपानीका लिपिङ, दुगुनागढी, यार्मासँग, फुल्पिङकट्टीको हिन्दी, डाकलाङ क्षेत्र र मार्मिङलगायत बस्तीका बासिन्दा विस्थापित भएका छन् ।
प्रतिकृया दिनुहोस