प्रभावकारी बन्दै बहुभाषामा शिक्षण
रुकुम, । पूर्वी क्षेत्रमा रहेका विद्यालयमा बहुभाषामा पढाइ शुरु हुनथालेपछि विद्यार्थीको आकर्षण बढेको छ ।
नेपाली भाषामा मात्र पढाइ हुने विद्यालयमा स्थानीय मगर खाम भाषामा पनि किताब तयार भएर पढाइ शुरु भएपछि विद्यार्थीको आकर्षण बढेको शिक्षकको भनाइ छ ।
३ वर्षदेखि भुमे गाउँपालिकाको काँक्रीमा रहेका ८ विद्यालयमा बहुभाषामा पढाउन ८ जना शिक्षक तोकिएको छ भने करिब ६ सय छात्रछात्राले सो भाषामा अध्ययन गरिरहेका छन् ।
२१ वर्ष अघिदेखि त्यस क्षेत्रका विद्यालयमा बहुभाषामा शिक्षण शुरु गर्ने जिल्ला शिक्षा पठ्यक्रम विकास समितिको पहल भए पनि त्यो सम्भव भएको थिएन ।
तर विगत ३ वर्ष पहिले जिल्लामा रहेको गैरसरकारी संस्था युनाइटेड मिसन टु नेपाल रुकुम कलष्टरको आर्थिक सहयोगमा पाठ्यक्रम तयार भएपछि अहिले यी विद्यालयमा बहुभाषामा शिक्षण भइरहेको छ ।
नेपाली भाषामा मात्र पढाइ हुँदा विद्यार्थीले नबुझेर समस्या हुने गरेको भए पनि अहिले स्थानीय मगर खाम भाषामा पनि पढाइ हुन थालेको छ । ८ विद्यालयका कक्षा ३ सम्ममा अहिले अँग्रेजीबाहेक अरु सबै विषय बहुभाषा नेपाली र स्थानीय मगर खाम भाषा मा पढाइ भइरहेको छ ।
बहुभाषामा शिक्षण शुरु भएपछि विद्यार्थी पनि सक्रियताका साथ विद्यालयमा आउने र शिक्षण क्रियाकलापमा सहभागी हुने गरेको आधारभूत खाबाङका प्रधानाध्यापक गोवद्र्धन बुढाले बताए । विद्यार्थीको सक्रियता बढेपछि शैक्षिक प्रगतिमा पनि वृद्धि भएको उनको भनाइ छ ।
मगर खाम भाषा बोलिने यी क्षेत्रका अन्य विद्यालयमा पनि आगामी दिनमा यस्तो पाठ्यक्रम बनाउनका लागि आफूहरूले सहयोग गर्ने युनाइटेड मिसन टु नेपाल रुकुम कलष्टरका टिम लिडर ताराहाङ तावाले बताए।
पाठ्यक्रममा बहुभाषा शिक्षणअन्तर्गत मगरखाम, नेपाली र अंग्रेजी भाषा रहेको छ । कालो अक्षरमा नेपाली र अंग्रेजी भाषामा रहेका किताबमा रातो रङ्ग प्रयोग गरेर स्थानीय मगर खाम भाषामा परिमार्जन गरिएको छ । आफ्नै भाषामा पढाइ हुन थालेपछि विद्यार्थी खुसी भएका छन् ।
प्रतिकृया दिनुहोस