नारायणगढ–मुग्लिन सडक खण्डमा रातमा काम सुरु
चितवन, । नारायणगढ–मुग्लिन सडक खण्डमा रातको समयमा भित्तो काट्ने काम तीव्रगतिमा अगाडि बढाइएको छ । सो सडक खण्डको घुमाउने र चेपाङ डाँडामा रातको समयमा हेलोजिन बत्ती बालेर सडकको भित्तो काट्न थालिएको हो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार नारायणगढबाट २२ किलोमिटर दुरीमा रहेको घुमाउनेको पूरै पहाड हटाउनुपर्ने भएकाले राति ९ बजेदेखि बिहान ४ बजेसम्म पहाडमाथि २ एक्साभेटर र तल २ लोडर राखेर कामलाई तीव्रता दिइएको छ । २ सय मिटर लम्बाइ र ४४ मिटर अग्लो पहाड भएको सो ठाउँमा सडक करिब छ मिटर मात्रै फराकिलो छ ।
सडकलाई १८ मिटर फराकिलो बनाउन पहाड हटाउन लागिएको र उक्त ठाउँमा करिब ३५ प्रतिशत काम मात्रै बाँकी रहेको खनालले बताए ।
असार २७ गतेबाट रातमा सवारी साधन बन्द गरेर सो ठाउँमा राति बत्ती बालेर काम थालिएको हो । ३ दिन देखि चेपाङ डाँडामा पनि राति नै काम थालिएको छ ।
नारायणगढबाट ३३ दशमलब ८ किलोमिटर टाढा मुग्लिनतर्फ चेपाङ डाँडो पर्दछ । सो ठाउँमा केन्टिलिभर राख्न ३३ मिटर अग्लो ठाउँबाट पहाड काट्न थालिएको छ । त्यस ठाउँमा सडक पाँच मिटर मात्रै सडक फराकिलो रहेको खनालले बताए ।
चेपाङ डाँडामा १५० मिटर लामो क्षेत्रमा पहाड काट्नुपर्ने हुन्छ । जहाँ ७० प्रतिशत काम गर्न बाँकी छ । ठाउँ सानो भएकाले सो ठाउँमा माथि एउटा ब्रेकर र तल सडकमा एउटा लोडर प्रयोग गरिएको छ ।
काममा ढिलो भएपछि चौतर्फी दबाबसँगै ठेकेदार कम्पनीले रातको समयमा दासढुंगा क्षेत्रमा ग्राभेल गरेर सम्याउने काम पनि थालेको छ ।
कालोपत्रेको तयारीका लागि काम थालिएको हो । सडकको ५ दशमलब ५ किलोमिटर क्षेत्रमा एक तह कालोपत्रे गरिएपनि अन्य क्षेत्रमा कालोपत्रे हुनसकेको छैन ।
सडकको ८ सय मिटर क्षेत्रमा भित्तो काट्नुपर्ने काम बाँकी छ । सो सडक हालसम्म करिब ५२ प्रतिशत मात्रै काम भएको छ ।
प्रतिकृया दिनुहोस