झन थलियो तातोपानी
काठमाडौं । २०७२ बैशाख १२ मा गएको भुकम्पले थलिएको तातोपानी नाका अझैं माथि उठ्न सकेको छैन । फेरि यही बेला पहिरो गएर तातोपानीलाई उठ्नै नसक्ने बनाइदिएको छ ।
चीनसँगको सिधा र सजिलो मार्गको रुपमा रहेका तातोपानी नामा भूकम्पपछि बन्द छ । लामो समयदेखि बन्द रहेको सो नाका खुलाउन अनेक प्रयास भइरहेका बेला आइतवार राती आएको पहिरोले अरनिको राजमार्गको लार्चास्थित भोटेकोसीको मोटरेबल पुल भाँचिदिएको छ । सो पुल भाँचिएपछि तातोपानी नाका थप थला परेको छ ।
चीन सरकारले २०३८ मा बनाएको सो पुल अहिलेसम्म दुई पटक भाँचिको छ । २०५३ साउन ७ मा पनि सोही ठाउँको भैरवकुण्ड खोलामा बाढीसँग पहिरो खस्दा लार्चा पुल बगाएको थियो । त्यसबेला पहिरोमा परी ५४ जनाको मृत्यु भएको थियो । उक्त घटनाको २१ वर्ष पुगेकै दिन अर्को पहिरो गएको छ ।
सो पुल भाँचिएपछि तातोपानी नाका खुल्न थप जटिल भएको भैरवकुण्ड क्लवका अध्यक्ष कुमार श्रेष्ठ बताउँछन् । भुकम्पले तातोपानी नाका बन्द भएपछि सो क्षेत्रका सयौं व्यापारी पलायन भएका छन् । केही चाँही अझैं नाका खुल्ने आसमा सुरक्षित स्थानमा बसिरहेका छन् ।
तातोपानी नाका नखुल्दा नेपालललाई वर्षेनी अर्बाै घाटा लाग्दै आएको छ । भूकम्प र भोटेकोसी बाढीले दुई वर्षदेखि सुनसान हुँदै गएको तातोपानी नाका पुल भत्किएपछि थप थलिएको स्थानीय बासिन्दाले बताएका छन् ।
प्रतिकृया दिनुहोस