वैदेशिक रोजगारीमा मृत्यु भएका परिवारलाई २२ लाख क्षतिपूर्ति
काठमाडौँ । वैदेशिक रोजगारको शिलशिलामा विदेशमा मृत्यु हुनेको परिवारलाई बीमा रकमसहित करिब २२ लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।
विदेशमा मृत्यु भएका कामदारका परिवारलाई सात लाख रुपैँया क्षतिपूर्ति दिने निर्णय कार्यन्वयनमा आउने भएको छ । सरकारले गतवर्ष गरेको निर्णय आगामी साउन पहिलो सातादेखि कार्यान्वयन हुने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ ।
मन्त्रिपरिषदबाट हालै पारित उक्त निर्णय साउनको पहिलो हप्तासम्ममा राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुने बैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बताए ।
काफ्लेले भने ‘नियमावलीलाई सम्पादन गर्ने काम कानून मन्त्रालयबाट भइरहेको छ । त्यसपछि राजपत्रमा प्रकाशन गर्नका लागि मुद्रण विभागमा पठाइन्छ । हाम्रो प्रयत्न कम्तीमा साउन १ गतेदेखि लागू होस् भन्ने हो ।
विभिन्न देशमा रहेका नेपाली कामदारहरुमध्ये दैनिक कम्तीमा ३ जनाको शव देश भित्रिने गरेको बताइन्छ । उनीहरुले कल्याणकारी कोषको ७ लाख बाहेक १५ लाख रुपैँया जीवन बीमाबाट पाउने छन् ।
त्यस्तै क्यान्सर, ह्रृदयाघात, ब्रेन ट्युमर जस्ता १५ किसिमका गम्भीर रोग लागेका बिरामीलाई थप ५ लाख रुपैँया दिने व्यवस्था गरिएको प्रवर्द्धन बोर्डले जनाएको छ ।
विदेशमा मृत्यु हुने कामदारको परिवारले वैदेशिक रोजगार कल्याणकारी कोषबाट हाल पाउँदै आएको ३ लाखबाट बढाएर ७ लाख रुपियाँ दिने निर्णय सरकारले गत वर्ष गरेको थियो ।
कामदारको मृत्यु बाहेक बिरामी र अंगभंग भएकाहरुलाई पनि रकमको व्यवस्था गरिएको छ । बीमा र कल्याणकारी कोषबाट क्षतिपूर्ति रकम बढाएसँगै कामदारहरुले विदेश जानु अगाडि तिर्नुपर्ने बीमाको प्रिमियम शुल्क समेत बढेको छ ।
कामको अवधि र कामदारको उमेर अनुसार फरक फरक हुने उक्त शुल्कमा कम्तीमा ९ सय ५० रुपैयाँ रकम बृद्धि भएको जनाइएको छ ।
कार्यकारी निर्देशक काफ्लेले भने ‘५ लाखको विमांकलाई १० लाख बनाइयो । त्यो १० लाख भनेको १५ लाख क्षतिपूर्ति पाउने ब्यवस्था हो। प्रिमियम ४० प्रतिशत मात्र बृद्धि गरेर असाध्य कममा शत प्रतिशत बिमांक वढाइएको छ ।’हाल कल्याणकारी कोषमा चार अर्ब भन्दा धेरै रुपैयाँ रहेको बोर्डले जनाएको छ ।
प्रतिकृया दिनुहोस