मिटर ब्याजले निम्त्यायो बिलापका दिन
धनगढी, । छोटो समयमा धेरै आर्थिक लाभ कमाउने लोभ गर्दा यहाँ कैयौँ परिवार लागि बिलापमा रुमल्लिएका छन् ।
गैरकानूनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि लगानीकर्ता बिलापमा परेका हुन् । धेरै लगानीकर्ताका घर सम्पत्ति मिटर ब्याजका कारण सखाप पनि हुन थालेको छ ।
बढी ब्याज पाइने लोभमा मिटर ब्याजमा गरिएको ठूलो लगानी रकम डुब्ने देखिएपछि कैयौँको घरबार बिलचल्ली भएको छ भने सो कारोबारमा ठगिएका र ठगी गर्ने दुवै पक्ष दिनहुँ जिल्ला प्रहरी कार्यालय धाउने गरेका छन् ।
मासिक चर्को ब्याज रकम रहेको मिटर ब्याजमा भएको लगानी उठ्न नसकेपछि कतिपयले घरसमेत छोडेर सम्पर्कविहीन हुनुपरेको एक पीडितको दुःखेसो थियो ।
मिटर ब्याजमा लगानी गर्नेलाई बढीमा मासिक १० प्रतिशतसम्म ब्याज दिइने गरिएको बताइन्छ । यसको कारोबारमा मजदुर वर्गदेखि लिएर सम्पन्न परिवारका व्यक्ति संलग्न छन् ।
आकर्षक ब्याजको लोभमा आफन्त समेतको लाखौँ रुपैयाँ मिटर ब्याजमा डुबाएर स्थानीय पार्वती भट्ट अहिले घर छोडेर सम्पर्क बिहिन भएको अर्का पीडित धर्मसिंह रावलले गुनासो गरेका छन् ।
धनगढी बोराडाँडीका गणेश रावलको पीडा पनि रावलको जस्तै छ । “आफूसँग भएको नगद त गयो गयो, घर घडेरी बैंकमा धितो राखेर निकालिएको रकम समेत मिटर ब्याजमा लगानी गर्दा सबै डुब्यो” रावलले भन्नुभयो– मिटर ब्याजमा यसरी आफूसँगै ठगिएका एक दर्जनभन्दा बढी रहेको पनि रावलले बताए ।
मिटर ब्याजको कारोबारको नेतृत्व पुरुषभन्दा बढी महिलाले नै लिने गरेको देखिएको छ । लगानी भएको रकम समयमै भुक्तानी नहुँदा महिला महिलाबीच नै कुटाकुटसमेत भएको छ । केही दिनअघि भएको कुटपिटबाट घाइते भएकी मिटर ब्याजको कारोबारमा संलग्न कल्पना गैरेको नेपालगञ्जमा उपचार भइरहेको छ ।
मिटर ब्याजको कारोबारबाट ठगिनेको निकै ठूलो संख्या रहेको प्रहरीले जनाएको छ । पछिल्लो तथ्याँकअनुसार मिटर ब्याज कारोबारमा जम्मा भएको रकम लिएर फरार हुनेको संख्या मात्र छ पुगेको छ । फरार भएकाले झण्डै ४० करोडभन्दा बढी रकम लगेको बताइएको छ ।
कारोबारबाट पीडित हुनेले प्रहरी कार्यालयमा उजुरी दिने गरे पनि प्रमाण जुटाउन नसक्दा पीडकलाई कुन आधारमा कारबाही गर्ने भन्ने समस्या देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
“ऋण दिने र लिनेको कुनै कानूनी आधार नै हुँदैन” जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन चन्दले भने “यस्तो अवस्थामा कारबाहीको प्रक्रिया अगाडि बढाउन समस्या उत्पन्न भएको छ ।” बैंकिङ कारोबार भएका र बैंकले चेक बाउन्स गरेपछि मात्र कानुनी दायरामा ल्याउन सकिने चन्दले बताए ।
प्रतिकृया दिनुहोस