बाइस लाख नयाँ निक्षेप खाता थपिए
काठमाडौँ, । सरकारले ‘एक व्यक्ति एक खाताको नीति’ सार्वजनिक गरी कडाइका साथ लागू गर्न थालेपछि नयाँ २२ लाख निक्षेप खाता खोलिएको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार २०७३ जेठ मसान्तसम्म निक्षेप खाता संख्या १ करोड ६६ लाख रहेकामा २०७३ चैत मसान्तसम्म निक्षेप खाता सङ्ख्या १ करोड ८८ लाख पुगेको छ ।
सरकारले चालु आवको बजेट वक्तव्यमा एक व्यक्ति एक खाताको नीति अगाडि सारेको थियो । सो नीति आगामी आवमा पनि निरन्तर रहनेछ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको आव २०७४÷७५ को मौद्रिक नीतिअनुसार प्रत्येक वर्ष निक्षेप खाता खोल्नेको संख्यामा बढोत्तरी भएको उल्लेख छ ।
बैङ्कका अनुसार २०७३ जेठ मसान्तसम्म कर्जा संख्या १० लाख ९५ हजार रहेकामा गत चैतसम्म सो संख्या ११ लाख ८३ हजार पुगेको छ । सरल र सहज बैङ्किङ प्रणालीको साधानका रुपमा लिइने एटिएम मेसिनको संख्या पनि बढ्दै गएको छ । गत आवमा १ हजार ८ सय ५९ एटिएम रहेकामा यस वर्ष एटिएम सङ्ख्या २ हजार ४७ पुगेको छ ।
यसैगरी मोबाइल बैङ्किङका ग्राहकको संख्या २४ लाख २७ हजार पुगेको छ । इन्टरनेट बैङ्किङका ग्राहकको संख्या ७ लाख ३५ हजार, जारी भएका बिट कार्डको संख्या ५१ लाख आठ हजार तथा क्रेडिट कार्डको संख्या ६४ हजार पुगेको राष्ट्र बैङ्कले जनाएको छ ।
बैङ्क तथा वित्तीय संस्थालाई एकीकृत गर्ने नीतिअनुसार २०७३ जेठ मसान्तसम्ममा ‘क’ वर्गका वाणिज्य बैङ्क २९ रहेकामा यस वर्ष २८ वटामा सीमित रहेको छ । ‘ख’ वर्गका विकास बैङ्क ६८ रहेकामा यस वर्ष २४ ले घटेर ४४ वटा कायम भएका छन् ।
‘ग’ वर्गका वित्त कम्पनी ४४ रहेकामा १३ ले घटेर ३० र ‘घ’ वर्गका लघुवित्त संस्था ४१ रहेकामा १० वटाले बढेर यस वर्ष ५१ पुगेका छन् । गत वर्ष बैङ्क तथा वित्तीय संस्थाको कुल संख्या १ सय ८२ रहेकामा यस वर्ष घटेर १ सय ५३ वटा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार २०७३ जेठमा बैङ्क तथा वित्तीय संस्थाको प्रति शाखाबाट औसतमा करिब ६ हजार ६ सय ४७ जनसंख्याले सेवा प्राप्त गरेकामा यस वर्ष एक शाखाबाट ५ हजार ८ सय ९ जनाले सेवा प्राप्त गरेका छन् । विसं २०७२ जेठमा जनसंख्या र बैङ्क तथा वित्तीय संस्थाको प्रतिशाखाको औसत अनुपात सात हजार २ सय ३२ रहेको थियो ।
प्रतिकृया दिनुहोस