३ दिनपछि खुल्यो सुख्खा पहिरो जाँदा अवरुद्ध भेडेटार रवि राँके जोड्ने सडक

धनकुटा । सुख्खा पहिरो खस्दा अवरुद्ध भएको धनकुटाको भेडेटार रवि राँके जोड्ने सडक ३ दिनपछि खुलेको छ । एप्को इन्फाटेक निर्माण कम्पनीका जेसीवीले सोमबार बिहानदैदेखि लगातार पहिरो पन्छाएको थियो ।
सोमबारदेखिको लगातारको प्रयासपछि पहिरो पन्छाएर अवरुद्ध भेडेटार रवि राँके जोड्ने सडक आज दिउँसो २ बजेपछि खुलेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।
सो सडक खण्ड अन्तर्गत साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजार छेउको लुङ्फाजोङ खण्डमा आइतबार राती सुख्खा पहिरो झरेको थियो । जसका कारण सोमबार बिहानदेखि नै सडक अवरुद्ध भएको थियो । लगातार ३ दिन सडक अवरुद्ध हुँदा सो क्षेत्रका बासिन्दाले यात्रामा समस्या भोगेका थिए ।
सो सडकमा सुख्खा पहिरो खसेपछि सो सडक हुँदै गुड्ने सबै सवारी साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गरेर गन्तव्यतर्फ पठाइएको प्रहरी चौकी डाडाबजारका बरिष्ठ हवल्दार नारायणबहादुर कट्वालले जानकारी दिए । यो सडक खण्डमा धनकुटाको राजारानी, ६ नम्बर बुधबारे, कुरुलेतेनुपा, मौनाबुधुक, बोधे लगायत पाँचथरको रवि राँकेसम्म झण्डै २६ वटा ठूला बस चल्ने गरेका छन् भने ३० वटा पिकअप चल्ने गरेको छ ।
भेडेटारदेखि पाँचथरको रविसम्मको १०३ किमी लम्बाइको उक्त सडक फराकिलो बनाउन डाडा कटिङ गरेको स्थानमा सुख्खा पहिरो गएको थियो । धनकुटाको भेडेटारबाट पाँचथरको रवि हुँदै राँके जोड्ने यो सडकको एक्जिम बैंक अफ इन्डियाको तीन अर्ब ६५ करोड रुपैयाँ लागतमा स्तरउन्नति गर्ने काम भइरहेको छ ।
प्रतिकृया दिनुहोस