प्रधानमन्त्री ओली भन्छन्, आवश्यकता अनुसार प्रदेशको संख्या घटबढ हुनसक्छ

काठमाडौं । राप्रपा लगायतका राजावादीहरुले प्रदेश खारेजीको माग गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकतानुसार प्रदेश थपघट हुने बताएका छन् ।
शनिवार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण कार्यक्रममा ओलीले नागरिकको आवश्यकता हेरेर प्रदेशको संख्या घटबढ गर्न सकिने बताए । प्रधानमन्त्री ओलीले सात प्रदेश बढेर ९ वटा पनि हुनसक्ने र घटेर ५ वटा पनि हुन सक्ने पनि बताए ।
उनले देश, विकास र जनताको आवश्यकतानुसार सुधार हुने कुरालाई रुवाबासी गर्न जरुरी नरहेको जिकिर गरे । उनले अब राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्न आवश्यक नरहेको भन्दै सुधार गर्ने कुरालाई सामान्य रूपमा लिनुपर्ने बताए । लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा बाहेक संरचनागत पक्ष बढी सुधार हेरफेर हुनसक्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।
उनले अब देशमा ठूलो राजनीतिक तथा सामाजिक परिवर्तनका लागि लड्नुपर्ने अवस्था नरहेको भन्दै केही सुधार भने गर्न सकिने बताए । ‘खुसीको कुरा मैले आफ्नै जीवनकालमा लोकतान्त्रिक गणतन्त्र देखें । त्यतिबेला मेरो माग संघीयता थिएन । २००७, २००४६ र ६२(६३ को आन्दोलनमा संघीयताको माग थिएन । यस्तो कुरा गर्दा मलाई संघीयता विरोधी पनि भन्छन्’, उनले भने, ‘अहिलेको ७ वटा प्रदेश ९ वटा वा ५ वटा पनि हुनसक्छ। कुनै रुवाबासी गर्नु आवश्यक छैन। देश र जनताको आवश्यकताअनुसार प्रदेश बन्ने हो ।’
ओलीले पत्नी राधिका शाक्य नभएको भए आफू अहिलेसम्म बाँच्न सम्भव नभएको पनि बताएका छन् । उनले भने, ‘म जति श्रीमतीसँग खुशी मान्छे कोही पनि छैन होला सायद। म त्यति खुशी छु। राधिका नहुने हो भने म अहिलेसम्म बाँच्न वास्तवमा सम्भव थिएन ।’
प्रधानमन्त्री ओलीले भक्तपुरको बालकोटमा रहेको घर आफ्नो बलबुँताले बनाएको नभइ श्रीमती राधिकाको कमाईबाट बनाएको बताए । उनले उक्त घर पनि नेपाल ट्रस्टलाई दान गरिसकेको बताए । उनले आफूजति श्रीमतीसँग खुशी मानिस अर्को सायदै हुने बताए ।
प्रतिकृया दिनुहोस