माओवादी धनकुटाले मनायो ३० औं जनयुद्ध दिवस

धनकुटा । तत्कालीन १० वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीले विभिन्न कार्यक्रम गरी ३०औं ‘जनयुद्ध दिवस’ मनाएका छन् ।
सो अवसरमा नेकपा माओवादी केन्द्रले धनकुटाका विभिन्न पालिकाहरुका विभिन्न कार्यक्रम गरी ३०औं जनयुद्ध दिवस मनाएको छ । माओवादीको धनकुटा नगरकमिटीले धनकुटा नगरपालिका वडा नं. ९ वेलहरामा ३० औं जनयुद्ध दिवस मनाएको छ ।
नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज धनमाया विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सहिद प्रदिप तिवारीको शालिकमा माल्यार्पण गरिएको थियो । सो कार्यक्रममा माओवादी केन्द्रका कोशी प्रदेश सदस्य नगेन्द्र गहतराज, हेमचन्द्र किँराती लगायतको उपस्थिती रहेको थियो ।
त्यसैगरी पाख्रिबासमा पनि साँझ दीप प्रज्वलन गरी जनयुद्ध दिवस मनाइएको छ । जिल्ला सचिव ओम प्रकास निरौलाको नेतृत्वमा पाख्रिवास बजारमा दीप प्रज्वलन गरिएको थियो । सो दीप प्रज्वलनमा पाख्रिबास नगरकमिटीका पदाधिकारीसहित सर्वसाधारणसमेत उपस्थिती रहेको थियो ।
त्यसैगरी छथरजोरपाटी गाउँपालिकामा जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रिय सल्लाहकार पदम भण्डारीको प्रमुख आतिथ्यतामा जोरपाटी बजारमा दीप प्रज्वलन गरिएको छ । सो कार्यक्रममा नेकपा माओवादी केन्द्रकी कोशी प्रदेश सदस्य तथा छथरजोरपाटी गाउँपालिका उपाध्यक्ष गीता खेवा गुरुङको समेत सहभागीता रहेको थियो ।
चौविसे गाउँपालिकामा भने आधुनिक देवानको नेतृत्वमा ३० औं जनयुद्ध दिवस मनाइएको छ । धनकुटाकै महालक्ष्मी नगरपालिका, साँगुरीगढी र सहिदभुमी गाउँपालिकामा पनि जनयुद्ध दिवस मनाइएको छ ।
प्रतिकृया दिनुहोस