धनकुटाको सिधुँवामा नवसाक्षरता कार्यक्रम प्रभावकारी बन्दै, अक्षर चिन्न छेकेन बुढ्यौलीले

धनकुटा । पढ्नलाई न उमेरले छेक्छ, न परिस्थितीले नै । अहिले धनकुटा छथरजोरपाटी गाउँपालिकाको सिधुवामा रहेको सामुदायीक पुस्तकालयले पाका पुस्तालाई अहिले बल्ल अक्षर चिनाइरहेको छ । यसको चौतर्फी प्रशंसा गर्न पनि थालिएको छ ।
मोबाइल र क्याल्कुलेटरको प्रयोग गर्न जान्ने, शुन्यदेखि ९ सम्मका अंक र अक्षर लेख्नसक्ने, १ देखि सयसम्म गणना गर्नसक्ने, लेनदेनको हरहिसाब राख्नसक्ने तथा साइनबोर्ड र ट्राफिक संकेतहरु सहजै पहिचान गर्नसक्ने भइसकेपछि त्यसलाई साक्षर भएको मान्छि । त्यसकैको आधारमा नेपाललाई साक्षर देश बनाइयो । यतिवेला धनकुटा छथरजोरपाटी गाउँपालिकामा भने पाका पुस्ता भने अक्षर चिन्ने प्रयासमा देखिन्छन् ।
छथरजोरपाटी गाउँपालिका–६ गुरुङ टोलकी ६८ वर्षकी दिलकुमारी गुरुङलाई उमेरमा पढ्न नपाउँदाको दुःख भनी साध्य छैन । पहिले अरुले नाम लेखेर सही गरेको देख्दा मन कुटुक्क हुन्थ्यो । ल्याप्चे लाउनु नपरोस् भनेर अहिले ढल्किँदो उमेर भए पनि अक्षर चिन्न हरदम कोसिस गरिरहेकी छन् ।
गुरुङ टोलकै ५३ वर्षकी डोल्मा शेर्पाले अहिले घरको हजार काम छोडेर कखरा सिकिरहेकी छन् । पहिले पढ्ने इच्छा हुँदाहुँदै पढ्न नपाउँदाको रहर बल्ल पूरा हुँदैछ । उनलाई पनि अक्षर चिन्न बुढ्यौली हुँदै गएको उमेरले छेकेको छैन । उनलाई अहिलेको दुई महिने सिकाई कम भएजस्तै लाग्छ । प्रौढ कक्षा सकिन लाग्दा उनलाई औधी चिन्ता लागेको छ ।
‘खै बल्लबल्लअक्षर चिन्न शुरु भएको थियो । पढाई पो सकिन लागेछ’ उनले भनिन्, ‘लाइव्रेरीले कम्तीमा ६ महिना थपिदिएको भए अलिक धेरै जानिन्थ्यो होला । तर के गर्नु हामीले भनेर हुन्न रहेछ । अब पढ्ने रहर अधूरै रहला जस्तो छ ।’
६० वर्षकी प्रेमकुमारी थापालाई अहिले पढ्न न उमेरले छेकेको छ, न पारिवारिक झमेलाले नै । उनले मन हुँदा हुँदै पनि सानोमा पढ्न पाइनन् । तर बुढेसकालमा अहिले बल्लतल्ल आफ्नो नाम लेख्न सक्ने भएकी छन् ।
छथरजोरपाटीको सिँधुवामा सामुदायीक पुस्तकालय छ । सो पुस्तकालयले पुस्तक पढाउने मात्रै होइन, सिकाईका अन्य धेरै कामहरु गरिरहेको छ । सिँधुवा छथरजोरपाटी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले अहिले जापान सरकार, एसभिए नेपाल, रिड नेपाल र छथरजोरपाटी गाउँपालिकासँगकै साझेदारीमा साक्षरता कार्यक्रम गरिरहेको पुस्तकालयका अध्यक्ष अर्जुन घिमिरे बताउँछन् ।
सो पुस्ताकालयले पुस्तक पढाउने मात्रै उदेश्य राखेको छैन । अहिले सो पुस्तकालयले विकासको मोडल नै परिवर्तन गरेको छ । पालिकाभित्र भएका अनेक सम्भावनाको खोजी गर्दै विभिन्न प्रकारका तालिमहरु पनि आयोजना गरिरहेको छ । अन्य सम्भावनाहरुको पनि खोजि गरिरहेको छ ।
धनकुटामा ९७ दशमलव २५ प्रतिशत मानिस लेखपढ गर्न सक्ने भएको भन्दै २०७३ साल मंसिर २० गते जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको थियो । त्यसमा छथरजोरपाटी गाउँपालिका पनि पर्छ । तर त्यसले मात्रै सबै नागरिक साक्षर बनेका छैनन् । त्यही भएर पनि अहिले छथरजोरपाटी गाउँपालिकाले आफ्ना सबै नागरिकलाई साक्षर बनाउन पहल गरिरहेको छथरजोरपाटी गाउँपालिकाका उपाध्यक्ष गीता खेवा गुरुङको भनाई छ ।
शिक्षा आफैँमा पनि महत्वपूर्ण छ । अहिले पुस्तकालयले सञ्चालन गरेको तालिम चाँही सामान्य अक्षर चिनेकाहरुको स्तर वृद्धि गर्नु हो । तर गाउँघरमा निरक्षरहरु प्रशस्त भेटिएपछि अक्षर चिनाउन २ महिने नवसाक्षरता कक्षा सञ्चालन गरिरहेको छ । प्रौढ शिक्षा पढाउने पछिल्लो कदमको धेरैले प्रशंसा गरेका छन् ।
प्रतिकृया दिनुहोस