कुम्भ मेलामा भागदौड हुँदा कम्तिमा १० जनाको मृत्यु, अमृत स्नान स्थगित

Kumbha mela

काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिँदा कयौं व्यक्ति हताहत भएको आशंका गरिएको छ । यो घटनापछि अमृत स्नान केही समय स्थगित गरिएको छ ।

गएराति भएको भागदौडमा कम्तिमा १० जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । मृतकको संख्या फरक फरक आइरहे पनि सरकारी निकायबाट भने औपचारिक जानकारी दिइएको छैन ।

१३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । आज बुधबारको दिन मौनी अमावस्यमा १० करोड भन्दा धेरै श्रद्धालु गंगा कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो ।

मंगलबार राति नै प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएको थियो । धेरै व्यक्तिहरुको भिडमा कुल्चिएर ज्यान गएको छ । मानिसहरुको भागाभाग भएपछि स्थानीय प्रशासनले ब्यारिकेडहरु हटाएर सडक खुला गरेको छ ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सम्पर्क गरी घटनाबारे जानकारी लिएका छन् । लगत्तै मुख्यमन्त्री योगी आदित्यनाथले संगम स्थलतर्फ जाने प्रयास नगरी गंगा किनारमा जो जहाँनेर छ, त्यहीँनेर स्नान गर्न आह्वान गरेका छन् । उनले प्रशासनको निर्देशन पालना गर्न र अफवाहमा ध्यान नदिन पनि अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस