रास्वपा सभापति रवि लामिछानेको रुपन्देहमिा सकियो बयान, श्रीमति र कानुन व्यवसायीको जिम्मामा छाडियो

Rabi lamichhane at kathmandu court

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने विरुद्धको सहकारी ठगी एवं संगठित अपराध मुद्दामा लामिछानेको बयान सकिएको छ । बयानपछि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि उपस्थित हुने शर्तमा जिम्मा लगाएको छ ।

भोलि बिहान १० बजे अदालत उपस्थित हुनेगरी रविलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश भएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । लामिछानेविरूद्धको पेसी जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा परेको थियो । योगीको इजलासमा दिउँसो १ बजेबाट भएको बयान सकिएको उनले बताए ।

‘भोलि १० बजे अदालतमा उपस्थित गराउनेगरी उहाँको कानुन व्यवसायी र उहाँको श्रीमती निकिता पौडेल लामिछानेको जिम्मा जवानीमा छाड्ने आदेश भएको छ,’ मरासिनीले भने । जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सो आदेश दिएको हो ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बिहीबार अदालत उपस्थित भएका थिए । बिहीबार उनको बयान सकिएको छ । मरासिनीका अनुसार भोलिबाट उनको थुनछेक बहस सुरु हुनेछ । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो ।

लामिछानेका साथै छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछाने बयानका लागि मंगलबार नै भैरहवा पुगेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलको पूरक अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले दर्जन बढी तथ्य र प्रमाणसहित रवि लामिछाने, छविलाल जोशीसहित पूरकमा १४ र सुरु मुद्दाका ८ सहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा पूरक मुद्दा दायर गरेको थियो ।

२२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । लामिछानेविरुद्ध २ करोड व्यक्तिगत बिगो तोकिएको छ । सामूहिकतर्फ १० करोड ९९ लाख रुपैयाँको छुट्टै बिगो माग गरिएको छ ।

 

प्रतिकृया दिनुहोस