माघ १८ गते दुवै सदनको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस

Pm oli cabinet

काठमाडौं । सरकारले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउन राष्ट्रपति पौडेललाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीले बैठक बोलाउनुअघि सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले सभामुख घिमिरेसँग संसद अधिवेशन बोलाउने र संसदमा के कस्ता बिजनेस दिन सकिने विषयमा छलफल गरेका थिए ।

संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । विधेयक अधिवेशनको रुपमा लिइने हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

संसद बैठक नबस्दा विपक्षी दलहरूले सरकारलाई दबाब दिँदै आएको थियो । संसद छलेर अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले संयुक्त वक्तव्य जारी गरेर सरकारको आलोचना गरेको थियो । छिट्टै संसद बैठक नबोलाइए विशेष अधिवेशन आह्वानको प्रक्रियामा जाने चेतावनी पनि विपक्षीले दिको थियो ।

 

प्रतिकृया दिनुहोस