आज भूकम्प सुरक्षा दिवस : सचेतना बढाउन सके क्षति कम गर्न सकिने विश्वास

Quake bhawan

काठमाडौं । आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस । भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेरयो दिवस मनाइँदैछ ।

यस वर्ष ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर देशैभर दिवस मनाउन लागिएको हो ।

सहरी विकास तथा भवन निर्माण विभागका विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र हाम्रा घर संरचनाहरु पनि बलियो बनाउनुपर्ने भूकम्पको मुख्य पाठ रहेको बताए ।

विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २स्२४ बजे गएको ८।४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएको थियो ।

विस १९९० को भूकम्पमा परी आठ हजार ८१९ जनाको मृत्यु भएको थियो । असी हजार घर ध्वस्त भएका थिए । ध्वस्त घरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८ संरचना भत्किएको थियो । यसैगरी विसं २०७२ वैशाख १२ गतेको गोरखाभूकम्पमा परी आठहजार ६७० जनाको निधन भएको थियो भने सातलाख भन्दा बढी आवासमा क्षति पुगेको थियो ।

पूर्वतयारीको अभाव
पूर्वतयारीको अभावमा जाजरकोट भूकम्पपीडितले अझै पनि पूर्ण रूपमा राहत नपाएको अवस्था छ । पूर्वतयारी नहुँदा भूकम्पपछि सर्वसाधरणले दुःख पाउने गरेको विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीको भनाइ छ । 'अहिलेसम्म कतिपय भूकम्पपीडितले राहत पाउन नसक्दा उनीहरु अस्थायी आवासमै कष्टपूर्ण रुपमा बस्नु परेको छ', उनले भने ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) जाजरकोटको भूकम्पबाट प्रभावित भइ पुनःनिर्माण गर्नुपर्ने निजी आवासको सङ्ख्या ९५ हजार सातसय ८७ छ । भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक विपद्बाट क्षति पुगेका विभिन्न संरचनाहरूको पुनःनिर्माण तथा पुनःस्थापना योजनाको योजना कार्यान्वयनका लागि रु एक खर्ब एक अर्व १२ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निमित्त कार्यकारी निर्देशक डा. रमेश गुरागाईले नयाँ बन्ने संरचनाहरू भूकम्प प्रतिरोधि बनाउन आवश्यक रहेकोमा जोड दिन्छन् । 'हामीले भूकम्प प्रतिरोधी संरचना बनाउन सकिरहेका छैनौँ, सबै स्थानीय तहमध्ये भवन निर्माण संहिता ५० वटा स्थानीय तहमा मात्रै कार्यान्वयन भएको छ,' उनले भने, 'भूकम्प कहिले र कहाँ जान्छ भनेर भविष्यवाणी नै गर्न त सकिदैन । तर भूकम्पबाट बच्ने मुख्य उपाय स्वरुप पूर्वतयारी गर्न सकिन्छ । यो भनेको भूकम्प प्रतिरोधी संरचना बनाउने, बनिसकेका संरचनाहरूलाई सुधार गर्ने र अन्य पूर्वतयारीका गतिविधि नै हो ।'

भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि राष्ट्रिय सङ्कल्प आवश्यक भएको उनको भनाइ छ । 'राज्य तथा अन्य सरोकारवाला निकायबाट व्यापक जनचेता अभिबृद्धिका साथै विपद्पछिको प्रतिकार्यसम्बन्धि योजना र कार्यान्वयनका लागि तयार हुनुपर्छ', उनले भने, 'यसका साथै व्यक्ति आफैँले पनि भूकम्पबाट सुरक्षित हुन आफ्नो तर्फबाट तयारी हुनुपर्छ ।'

आजदेखि लाभग्राहीसँगको सम्झौता सुरु गरी पुनःनिर्माण थालनी
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सह–सचिव डा. भीष्मकुमार भुसालले आजदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनःनिर्माण थालनी हुने जानकारी दिए । गत आइतबार बसेको विपद् राष्ट्रिय परिषद्को १६औँ बैठकले भूकम्प र मनसुनजन्य विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापनाका लागि योजना स्वीकृत गरेको प्राधिकरणले जानकारी दिएको छ ।

बैठकले योजनाबमोजिमका क्रियाकलापको कार्यान्वयनका लागि स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई सम्बन्धित मन्त्रालय, प्रदेश र स्थानीय तहले आग्रह गर्ने तथा मन्त्रालयले सम्बन्धित निकायलाई यथाशीघ्र निकासा दिने गरी प्रबन्ध गर्न निर्देशन दिएको प्राधिकरणले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

रिकन्डीसन हाउसको दादागिरी : पैदल यात्रु सास्तीमा, मेयर बालेन र प्रहरी मौन

Reconditioning house news

काठमाडौं । काठमाडौंका मुख्य सडकहरूमा ‘रिकन्डीसन हाउस’ व्यवसायीहरूले फुटपाथ र सडक मिचेर बाइक राख्द...