रास्वपा सभापति रवि लामिछाने न्यायिक हिरासतमा, लगियो काठमाडौँ प्रहरी परिसर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविे लामिछानेलाई काठमाडौं जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ ।
काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस नभएकाले न्यायिक हिरासतमा पठाइएको हो । लामिछानेलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा लगिएको छ ।
काठमाडौं जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा पठाएको हो । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले थुनछेक बहसको अन्तिम आदेश नआएसम्म न्यायिक हिरासतमा पठाइएको जानकारी दिए ।
लामिछानेका तर्फबाट कानुन व्यवसायी यज्ञमणि न्यौपानेले थुनछेक बहस गर्नका लागि आग्रह गरिए पनि न्यायाधीशबाट समय अभावका कारण सम्भव नभएको भनी न्यायिक हिरासतमा पठाइएको जानकारी दिए । ‘इजलासमा बयान सकियो । २०/२५ मिनेट समय बाँकी थियो । लामिछानेका तर्फबाट थुनछेक बहस गरौं भन्ने प्रस्ताव गर्यौं तर सरकारी वकिलले अध्ययन गर्नुपर्नेछ भन्नुभयो । न्यायाधीशले पनि आज समय पुगेन भन्ने कुरा गर्नुभयो र प्रहरीको जिम्मा लगाउनुभयो’, न्यौपानेले भने, ‘कानुन व्यवसायी वा परिवारको जिम्मा लगाइदिनुस् भन्दा न्यायाधीशले मान्नुभएन र प्रहरीको जिम्मा न्यायिक हिरासतमा पठाउनुभयो । अब भोलि थुनछेक बहस हुन्छ ।’
लामिछानेविरुद्ध काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । उनी आइतबार बिहान अदालतमा उपस्थित भएका हुन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौँ आएर प्रहरीको सम्पर्कमा थिए ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए ।
लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको साहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ताको तयारी हुँदैछ ।
प्रतिकृया दिनुहोस