उमागौरी सहकारी प्रकरण : सांसद पत्नीलाई १० लाखमै उन्मुक्ति दिने खेल

अदालत भन्छ, थुनामा नै राखी कारबाही गरिरहन पर्ने देखिएन

Anjala koirala uma gauri sahakari

विराटनगर । जिल्ला अदालत मोरङको आदेशपछि सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला रिहा भएकी छिन् ।

उनले अदालतको आदेश बमोजिम १० लाख धरौटी बुझाएर रिहा भएको मोरङका एसपी नारायण चिमोरियाले जानकारी दिए । उनलाई मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न बुधबार आदेश दिएको थियो ।

कोइरालाले बयानका क्रममा सहकारीबाट कुनै आर्थिक लाभ नलिएको, सहकारीको कुनै निर्णय तथा कागजातमा सहीछाप नगरेको, माइन्युटमा अंग्रेजीमा गरिएका सहीछाप आफ्नो नभएको दावी गरेकी थिइन् ।

अदालतमा अन्जलाको तर्फबाट वरिष्ठ अधिवक्ताहरू चुडामणि आचार्य, शान्तिराम भण्डारी, रामप्रसाद भण्डारी, डिल्लीबहादुर कार्की, सिताराम राई, रमेश कोइराला, देवीबहादुर घिमिरे, गणेशराज लुइँटेल, हेमराज पन्त र अधिवक्ताहरू साहस आचार्य, रीता दाहाल, अन्ताज हुसेन, सन्नीकुमार साह, विश्वराम भट्टराई, मुना वस्ती, हरिशंकर मण्डल, कला त्रिताल, रसिकलाल मण्डल, डिल्लीराम घिमिरे र विनोदकुमार तिम्सिनाले बहस गरेका थिए ।

उमागौरी सहकारीको बचत अपचलन आरोपमा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ । अन्य सहकारीको अभियोजन गर्दा सरकारी वकिलको कार्यालयले व्यक्तीको कसुर दाबीका आधारमा बिगो माग दाबी गरेको थियो । उमागौरीको हकमा भने व्यक्तिगत कसुर उल्लेख नगरी एकमुष्ट बिगो दाबी गरेको थियो ।

‘सहकारीको पूर्ण साधारणसभाको मिति २०७८ माघ १५ मा बसेको बैठकले निज प्रतिवादी अन्जला कोइरालाले दिएको राजीनामा स्वीकृत गर्दा निजको यस संस्था प्रति कुनै दायित्व रहेको छैन भन्नेसमेत बेहोरा उल्लेख गरी स्वीकृत गरेको र सोहीअनुसार निज प्रतिवादीलाई व्यक्तिगत पत्र दिई, विभिन्न वित्तीय संस्थाहरूलाई बोधार्थसमेत दिएको अवस्था भएकोले,’ अदालतको आदेशमा भनिएको छ ।

आदेशमा अगाडि भनिएको छ, ‘अभियोग दाबीमा उल्लेखित विषयमा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी, निजलाई हाल थुनामा नै राखी कारबाही गरिरहन पर्ने नदेखिएकोले हाललाई यी प्रतिवादी अन्जला कोइरालाबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम दश लाख रुपैयाँ नगद धरौट वा जेथा जमानत वा बैंक जमानत दिए लिई तारेखमा राख्नू ।’

मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन आरोपमा फारार रहेकी उनी बुधबार बिहान जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् । आजै बयानपछि थुनछेक बहस भएको थियो ।

गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना आरोपमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । शिक्षक समेत रहेकी कोइराला मुद्दा दर्तापछि विद्यालयबाट बिदा लिएर फरार भएकी थिइन् ।

सोही सहकारी ठगी प्रकरणमा सहकारीका पूर्व उपाध्यक्ष तथा रंगेली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सन्तलाल खवास मुद्दालाई ५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशी भने पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

दलित मुक्ति संगठनको अध्यक्षमा रामऔतार पासवान, बैशाखमा महाधिवेसन गर्ने

Dalit mukti sangathan news photo (2)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठनको केन्द्रीय अध्यक्षमा रामऔतार पास...