चीनको दिङ्गे काउन्टीमा शक्तिशाली भूकम्प, नेपालमा ठूलो धक्का
काठमाडौं । आज बिहान चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रविन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको छ ।
दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टी नजिक केन्द्रबिन्दु भएर ७ म्याग्नीच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी) ले जनाएको छ । भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित नेपालका धेरै जिल्लामा महसुस भएको छ ।
खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् कोइरालाले भूकम्पको केन्द्रविन्दु र नेपालको दूरी ९० किलोमिटर रहेको बताए । यससँग नजिकका नेपालका जिल्ला ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा र दोलखा रहेका छन् ।
भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए ।
केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए ।
केन्द्रले ६ देखि ८ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव छ रेक्टर स्केलको गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । केही समयदेखि पश्चिम नेपालमा निरन्तर स–साना भूकम्प गइरहेको छ ।
भूकम्पको धक्काले काठमाडौँवासी सडकमा निस्किएका छन् । खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले भने उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए । उनका अनुसार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्रायस् ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।
प्रतिकृया दिनुहोस