मनाङ बन्दैछ विदेशी पर्यटकको आकर्षणको केन्द्र

Manag paryatan

मनाङ । घुम्नलायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वदेशी पर्यटकको तथ्यांक नराखिए पनि बाह्य पर्यटकको अभिलेखीकरणअनुसार वार्षिक रूपमा यहाँ आउने पर्यटकको संख्या वृद्धि हुँदै गएको हो ।

विश्वको जोखिमयुक्त भनेर पहिचान गरिएको अन्नपूर्ण पदमार्ग यात्रामा आउने विदेशी पर्यटकको रोजाइमा मनाङ प्राथमिकतामा पर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइले जनाएको छ । सन् २०२४ मा मनाङमा ३० हजार ८६६ पर्यटक भित्रिएका छन्। एक वर्षमा १८ हजार ४९९ पुरुष, १२ हजार ३६२ महिला र पाँचजना अन्य विदेशी नागरिक यहाँ आएका तथ्यांक रहेको एकाइका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए ।

यहाँ आउने पर्यटक अन्नपूर्ण पदमार्गका साथै मनास्लु पदयात्रामा समेत निस्कने गरेका एकाइअन्तर्गत धारापानीमा भएको अभिलेखीकरण उल्लेख छ । उनका अनुसार तीन वर्षको वार्षिक तथ्यांकअनुसार हालसम्म बढी मात्रामा फ्रान्सका नागरिक यहाँ आएका देखिन्छन् ।

प्रमुख भुजेलले भने, ‘अन्य देशको तुलनामा यहाँको भ्रमणमा फ्रान्सका नागरिक बढी आएको पाएका छौँ ।’ सन् २०२४ मा तीन हजार ३१६ जना फ्रान्सका नागरिकले भ्रमण गरेका छन् । उनका अनुसार इजरायलका तीन हजार छ, जर्मनीका दुई हजार ३५५, युकेका एक हजार नौ सय र भारतका एक हजार ८३१ नागरिक यहाँ आएका छन् ।

हिमाली क्षेत्र, अग्ला पहाड र जैविक विविधताले भरिपूर्ण रहेकाले यहाँ पर्यटकको आकर्षण बदेको भन्दै यहाँ आउने पर्यटकले मानव जीवनको वास्तविकता, स्थानीय परिकार र संस्कृति, रहनसहन, प्राकृतिक सुन्दरतालगायत हिमाली दृश्य अवलोकन गर्न आकर्षित हुने भुजेलले बताए । बाइस हजार ३९ पर्यटक थोराङला भञ्ज्याङ र तिलिचो ताललगायत क्षेत्रको भ्रमण गरेका छन् भने आठ हजार ८२७ पर्यटकले मनास्लु पदमार्गको यात्रा गरेका उनले जानकारी दिए ।

दुई सिजनमा पर्यटकको आवागमन हुने भन्दै पहिलो सिजन (मार्च, अप्रिल र मे) महिनामा बढी पर्यटकको आगमन हुने भुजेलले बताए । त्यस्तै, दोस्रो सिजनअन्तर्गत सेप्टेम्बर, नोभेम्बर, अक्टोबर र डिसेम्बरमा पर्यटकको आगमन तुलनात्मक रूपमा कम हुन्छ ।

सन् २०२३ मा २१ हजार २४७ पर्यटक भित्रिएको तथ्यांकमा अभिलेखीकरण छ । सन् २०२३ मा १८ हजार ८३ विदेशी नागरिकले थोराङला भञ्ज्याङ, तिलिचो ताल, गंगापूर्ण ताल, आइसलेकलगायत हिमतालको भ्रमणका गरेका छन् भने तीन हजार एक सय ६४ विदेशी नागरिकले मनास्लु पदमार्गको यात्रा गरेका छन् । सन् २०२३ मा पनि सबैभन्दा बढी फ्रान्सका नागरिक आएको एकाइका प्रमुख भुजेलले जानकारी दिए।

सन् २०२२ मा १५ हजार ८५५ विदेशी नागरिकले मनाङ भ्रमण गरेका थिए। यहाँ आउने अधिकांश विदेशी पर्यटक विश्वको दशौँ स्थानमा पर्ने जोखिमयुक्त अन्नपूर्ण पदमार्गमा यात्राका लागि आउने गरेका छन् । फ्रान्स, इजरायल, जर्मनी, भारतका साथै अन्य देशका नागरिक आउने क्रम बिस्तारै बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइले जनाएको छ ।

यसका साथै अमेरिका, अस्ट्रेलिया, चीन, रसिया, नेदरल्यान्ड, पोल्यान्डलगायत १२५ देशका नागरिक यहाँ आउने गरेका एकाइका प्रमुख भुजेलले उल्लेख गरे ।

कोभिडको संक्रमण र वि।सं। २०७८ को बाढीपहिरोपछि यहाँ पर्यटक आगमनमा वृद्धि हुँदै गएको छ । पर्यटक हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटक आउने गर्दछन् । यहाँ आउने अधिकांश पर्यटक अन्नपूर्ण पदमार्गमार्फत मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका- ७ मनाङे चौताराबाट यात्राको सुरुवात हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँचवटा जिल्ला जोडिएका छन् ।

काठमाडौंबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक यातायात सहज भएपछि सवारीसाधनमा चामे, खाङ्सारसम्म पर्यटक पुग्ने गरेका पाइन्छन् । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा सुरु गरिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

त्रिवि स्ववियु सचिवको धर्ना सकियो, ३५ बुँदे सहमतिपछि धर्ना स्थगित

Tu sahamati

काठमाडौं । विश्वविद्यालयको शैक्षिक सुधारको माग राख्दै आन्दोलनरत विद्यार्थी र प्रशारसनबीच सहमति भए...