वामदेव गौतम भन्छन्, माधव जी र म एकजुट हुने भइयो नि त
काठमाडौं । काठमाडौं । लामो समयदेखि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने वामदेग गौतमको योजना लगभग अन्तिम चरणमा पुगेको छ । आज एकीकृत समाजवादीमा भएको वार्तापछि नेता गौतमले पछिल्ला छलफलहरू सकारात्मक भएको बताएका छन् ।
बुधबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको छलफलपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । भीम रावलजी के गर्नुहुन्छ रु भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा गौतमले भनेका छन्, ‘त्यो मलाई थाहा छैन । माधव जी र म एकजुट हुने भइयो नि त । माधवजीले नै भीम रावललाई के गर्ने गर्नुहोला, मलाई थाहा भएन ।’
नेताहरूका अनुसार केही राजनीतिक विषयबाहेक अन्य विषयमा मोटामोटी सहमति भएको छ । ‘छलफल सकारात्मक भएको छ, अब चाँडै निर्णय पनि आउँछ,’ पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।
उनका अनुसार प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषयमा गौतमले प्रश्न राखेका थिए । ‘उक्त विषयमा पनि आज निकैबेर छलफल भयो । लगभग सहमतिको दिशामा गएका छौं,’ खतिवडाले भने । समझदारी विकास गर्ने गर्दै अघि बढ्ने सहमति भएको भन्दै गौतमले भनेका छन्, ‘हामीले एकताको घोषणा निर्णय भएपछि भन्छौं । अब धेरै समय लाग्दैन होला ।’
पार्टीमा नेता गौतमलाई वरिष्ठ नेताको पदसहित तेस्रो वरियता दिने विषयमा टुंगिन बाँकी छ । त्यसबाहेक गौतम नेतृत्वको अभियानबाट एकतामा सहभागी हुने नेताको हैसियतअनुसारको पद व्यवस्थापनमा पनि नेताहरुको बीचमा कुरा मिलेको उनले बताए ।
प्रतिकृया दिनुहोस