दक्षिण एसियाकै पहिलो सुरुङमार्ग सर्वसाधारणका लागि खुला

हेटौंडा । दक्षिण एसियाकै पहिलो दाबी गरेको चुरियामाई सुरुङ मार्ग सर्वसाधारणका लागि खुला भएको छ ।
हेटौंडा उपमहानगरपालिका १५ स्थित ऐतिहासिक चुरियामाई सुरुङ पुनर्निर्माणपछि बागमती प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेसँगै सर्वसाधारणका लागि खुला गरिएको हो ।
बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडामार्फत पुनर्निर्माण गरिएको हो । मर्मत, सम्भारको अभावमा पुरिएर अवरुद्ध बनेको सुरुङमार्ग बागमती प्रदेश सरकारले मूल्य अभिवृद्धि करसहित ३ करोड ६५ लाख ८२ हजार ४१५ रुपियाँको लागतमा जीर्णोद्धार गरेको हो । निर्देशनालय र उपमहानगरपालिकाबीच पुनर्निर्मित चुरियामाई सुरुङमार्गको हस्तान्तरणसँगै सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी साँचो हस्तान्तरण गरिएको थियो ।
हेटौंडा हुँदै तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको १०७ वर्ष पुरानो सुरुङमार्ग दक्षिण एसियाकै पहिलो दाबी गरिएको छ । २०७९ वैशाख १९ गतेसम्म निर्माण सक्ने सम्झौता सहित निर्माण कम्पनी माउन्टेनइन्फ्रा कम्पनी स्युचारटार काठमाडौंले निर्माण कार्य अघि बढाएको थियो । तर, उसले समयमा नै काम नसक्दा डेढ वर्ष थप समय लागको थियो ।
उपमहानगरपालिका र प्रदेश सरकार बीच हस्तान्तरण र सञ्चालन प्रक्रियाबारे अन्यौलता हुँदा सर्वसाधरणका लागि खुल्ला गर्न थप समय लागेको हो । सुरुङ पुनर्निर्माणको लागि भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमार्फत निर्देशनालयले चार करोड ५७ लाख रुपैयाँको बोलपत्र आब्हान गरेको थियो । इतिहास नयाँ पुस्तालाई हस्तान्तरणसँगै पर्यटन प्रवर्द्धनको लक्ष्यसहित बागमती प्रदेश सरकारले पुर्ननिर्माणको काम अघि बढाएको थियो ।
विसं १९७३ मा पाँचौं राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बाराको अमलेखगञ्जबाट मकवानपुरको हेटौंडा छिचोल्न उक्त सुुरुङमार्ग निर्माण गरिएको थियो । त्यस समय भारतबाट बाराको अमलेखगञ्जसम्म रेल आउँथ्यो । सुरुङमार्ग जिर्ण र जोखिमपूर्ण हुँदा चुरियामाई मन्दिर आउने श्रद्धालुहरू उक्त सुरुङमार्ग बाहिरबाटै हेरेर फर्कने गरेका छन् । चुरे पर्वत शृंखलामा पहाड काटेर कालोपत्रे सडक निर्माणसँगै उक्त सुरुङमार्ग प्रयोगविहीन बनेको थियो।
सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाले सुरुङमार्गको डिजाइन गरेका थिए । सुरुङको दुई सय २५ मिटर लम्बाइ, दुई दशलव ५ मिटर चौडाइ र तीन मिटर उचाइ रहेको छ । बारा र मकवानपुर जोड्ने विशाल चुरे पहाडलाई प्वाल पारेर निर्माण गरिएको सुरुङमार्ग २०१८ सालपछि प्रयोगमा आउन छाडेको थियो । सुरुङमार्ग २०७२ सालको भूकम्पपछि थप जीर्ण बनेको थियो ।
पर्यटन प्रबद्र्धनसँगै इन्जिनियरिङका विद्यार्थीहरूलाई अध्ययन केन्द्रको रुपमा सुरुङमार्ग प्रयोग गरिने लक्ष्य रहेको भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले बताए।
प्रतिकृया दिनुहोस