पत्रकारलाई लाग्यो चुनाव, काठमाडौंमा मात्रै नेतृत्वको लागि महिलाको उम्मेदवारी

Shobha aryal

काठमाडौं । नेपालका पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको निर्वाचन तीव्र रुपमा लागेको छ । केन्द्र, प्रदेश र जिल्लामा एकैसाथ शुक्रबार निर्वाचन हुँदैछ ।

जिल्ला जिल्लाको मनोनयन सकिँदा देशमै सबैभन्दा बढी सदस्य रहेको काठमाडौं शाखामा अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । यसमा पनि सत्ता साझेदार प्रेस युनियन र प्रेस चौतारीको गठबन्धन र विद्रोही प्रेस युनियनसहितको गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

महासंघको काठमाडौं शाखाको अध्यक्षको उम्मेदवारमा पुष्कर बस्नेत, शोभा अर्याल, गंगा बराल र रामचन्द्र बस्नेतको उम्मेदवारी परेको छ । अध्यक्षको प्रत्यासीको उम्मेदवार अर्यालको प्यानलमा विद्रोही प्रेस युनियन, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रगतिशील पत्रकार संघ लगायत लगायत सहभागी छन् ।

देशका विभिन्न जिल्लाहरुमा सहमति भएका छन् भने कतिपयमा अझैं सहमतिको प्रयास जारी रहँदा हालसम्म काठमाडौं शाखामा मात्रै अध्यक्षको लागि महिलाको उम्मेदवारी परेको छ । अन्य सबै जिल्ला, प्रदेश र प्रतिष्ठानमा पुरुष उम्मेदवार छन् ।

अध्यक्षको उम्मेदारी दर्ता गरेपछि उम्मेदवारहरुले प्रतिवद्धता सार्वजनिक गर्न थालेका छन् । यसैक्रममा शोभा अर्यालले आफ्नो प्रतिवद्धता सार्वजनिक गरेकी छन् । अर्यालले आफ्नो प्रतिवद्धता पत्रमा स्वरोजगारमूलक अखबारको व्यवस्थापन, हित र संरक्षण लागि पहल गर्ने, न्यू मिडियाको व्यवस्थापनका लागि कानुन बनाउन पहल गर्ने, समानुपातिक विज्ञापन वितरणको लागि नेपाल सरकारले ल्याएको नियम पालना गराउन पहल गर्ने उल्लेख छ ।

त्यसैगरी पत्रकारको सीप, क्षमता अभिवृद्धि कार्यक्रम लागू गर्ने, पत्रकार महिलाको सहभागिता बढाउन पहल गर्ने, शाखाको आफ्नै कार्यालय बनाउन पहल गर्ने, कार्यालय संरचना महिलामैत्री बनाउने, पत्रकारको हित र संरक्षणका लागि पहल गर्ने, पत्रकार मन्थन केन्द्र स्थापना गर्ने, पत्रकार सुरक्षा ग्यारेन्टीको लागि पहल गर्ने उनको प्रतिवद्धतामा उल्लेख छ ।

हाल काठमाडौं शाखाको कार्य समिति सदस्यसमेत रहेकी अर्यालले १६ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । उनले कमाण्डर पोष्ट दैनिक, विमर्ष साप्ताहिक, योसाता साप्ताहिक, निशानन्युज डटकम, लक्ष्यदीप साप्ताहिक, धनकुटा साप्ताहिक लगायत आम नेपाली टेलिभिजनमा समेत काम गरेकी छन् । हाल अंग्रेजी अनलाईन रेडभ्वाइस नेपाल डटकमकी सम्पादकसमेत रहेकी अर्यालले कोरोना कालमा पत्रकारहरुको सुरक्षाका लागि अहोरात्र खटेकी थिइन् ।

प्रतिकृया दिनुहोस