प्रचण्ड भन्छन्, राजनीतिक कोर्स बदल्नुपर्ने बेला आयो
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक कोर्स बदल्नुपर्ने बेला आएको बताएका छन् ।
माओवादी केन्द्र गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासकीय स्वरूप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्स बदल्न सकिने बताए ।
उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद होइन विज्ञ मन्त्री बन्ने व्यवस्थामा गएरमात्रै जनताको गणतन्त्र सुदृढ गर्न सकिन्छ । यसका लागि आन्दोलन जरुरी छ । आन्दोलन गर्न माओवादी बलियो हुनुपर्नेछ ।’
अरू दलभन्दा राष्ट्र र परिवर्तनप्रति इमानदार माओवादी नै रहेछ भन्ने जनताले बुझ्दै गएको उनले जिकिर गरे । अहिले माओवादीलाई जनतातर्फ फर्कने अवसर मिलेको भन्दै अध्यक्ष प्रचण्डले केही जिल्लामा ६४ कै अवस्था फर्कन थालेको दाबी गरे । विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको पनि उनले सुनाए ।
उनले पार्टीको चुनबाङ बैठकबाट गणतन्त्रको अभ्यास गर्दै जाँदा यसलाई यथास्थितिमा राख्ने र जनताको गणतन्त्र बनाउने शक्तिबीच टक्कर पर्ने अड्कल गरेको स्मरण गरे ।
यसैगरी उनले जनयुद्धको तयारीदेखि पछिल्लो समयसम्म पार्टी नेतृत्वको वैचारिक तथा भौतिक रक्षामा गोरखा जिल्लाको अग्रणी भूमिका रहेको भन्दै प्रशंसा गरे । अध्यक्ष दाहालले देशभर निराशा छाएको बेला विसं २०७९ मा नौ वटा स्थानीय तह र हालै सम्पन्न उपनिर्वाचनमा पहिले पराजित भएका ठाउँमा पनि जितेर नयाँ इतिहास बनाएको बताए ।
विभाजनको शृंखला रोकिएर एकताको प्रक्रिया सुरु भएको उल्लेख गर्दै उनले अब कोही समूह वा नेताले मात्रै रोकेर कार्यकर्ता र जनता नरोकिने जिकिर गरे । अब विभिन्न धारामा बाँडिएका शक्तिबीचको एकतालाई जोडेर लैजानुपर्ने अध्यक्ष दाहालको भनाइ थियो ।a
प्रतिकृया दिनुहोस