पूर्वमन्त्री पदम राईको काठमाडौंमा निधन

Padam rai

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वभौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ ।

पारकिन्सन रोगबाट पीडित राईको शनिबार उपचारकै क्रममा निधन भएको हो । पार्किन्सन रोगबाट थलिएका उनको उपचारका क्रममा शनिबार राजधानीको वीर अस्पतालमा निधन भएको माओवादी केन्द्रका नेता सुनद किरातीले पुष्टि गरे । भोजपुर षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय उनी हाल केन्द्रीय सदस्य थिए ।

उनको निधनप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । ‘पारकिन्सन रोगबाट थलिनुभएका हाम्रो पार्टीका केन्द्रीय समिति सदस्य एवं पूर्वमन्त्री पदम राईको निधनले दुखित बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रचण्डले फेसबुकमार्फत भनेका छन् ।

भोजपुरको बोया घर भएका राई जनयुद्धकाल अघिदेखि नै माओवादीमा संगठित भएर लागेका थिए । राई पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेर भौतिक योजना तथा निर्माण राज्यमन्त्री बनेका थिए ।

तत्कालीन एकीकृत नेकपा माओवादी विभाजन भएपछि उनी मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा माओवादीमा लागेका थिए । वैद्यको पार्टी पनि विभाजित भएपछि उनी नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीतिर लागेका थिए । तर विप्लवको पार्टीमाथि प्रतिबन्ध लागेपछि उनी २०७६ मा तत्कालीन नेकपा हुँदै माओवादी केन्द्रमा फर्किएका थिए ।

प्रतिकृया दिनुहोस