दीपक मनाङे भन्छन्, म फरार भएको छैन, फैसलाको पाठ आएपछि अदालतमा जान्छु
काठमाडौं । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद दीपक मनाङेले आफु फरार नभएको बताएका छन् ।
उनले सर्वोच्चबाट फैसलाको पूर्णपाठ आएपछि आफू अदालतमा उपस्थित हुने पनि जनाएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मनाङेले कानुन व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएको तर अदालतबाट फैसलाको पाठ तयार नभइसकेको जानकारी आफूले पाएको बताएका छन् ।
अदालतबाट आफू दोषी ठहर भएको फैसला आएपछि केही सञ्चारमाध्यमबाट तारन्तार फोन आएकाले मोबाइल बन्द गरेको उनले बताएका छन् । साथै, केही सञ्चारमाध्यममा आफूविरुद्ध भ्रामक समाचार आएको भन्दै त्यसप्रति आपत्ति रहेको पनि उल्लेख गरेका छन् ।
‘सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रूपमा प्राप्त भएपछि अदालतमा म स्वयं उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु,’ मनाङेले भनेका छन् ।
कात्तिक २० उनको पुनरावेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पुनरावेदन अदालत, पाटनकै फैसला सदर गरेको थियो । पाटन अदालतले गुरुङलाई ५ वर्ष कैदको सजाय सुनाएको थियो । त्यसअघि जिल्ला अदालत काठमाडौँले २०६३ माघ ७ गते उनलाई २ वर्ष कैद सजाय तोकेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध सरकारले पुनरावेदन गरेको थियो ।
२०७९ को प्रदेश सभा निर्वाचनमा मनाङे मनाङ जिल्लाको प्रदेश सभामा ‘ख’ स्वतन्त्र उम्मेदवार थिए । उनी निर्विरोध निर्वाचत भएका हुन् । पछि माधव नेपाल नेतृत्वको नेकपा एस प्रवेश गरेका उनले केही समयमै उक्त पार्टीसमेत परित्याग गरेका थिए । मनाङे पहिलो प्रदेश सभा र दोस्रो पटकको कार्यकाल गरी ६ पटक मन्त्री भइसकेका छन् ।
२ दसकअघि चक्रे मिलन भनिने मिलन गुरुङमाथि सांघातिक आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको मुद्दा मनाङेमाथि लागेको हो । यो मुद्दामा उच्च अदालत पाटनको फैसला अनुसार केही समय उनी कारागारसमेत बसिसकेका छन् । सर्वोच्चले उच्चकै फैसला सदर गरेको हो ।
प्रतिकृया दिनुहोस