उमागौरी सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी
संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई उन्मुक्ती दिने प्रयास
विराटनगर । मोरङको धनपालथान–४ कर्सियास्थित उमा गौरी कृषि सहकारी संस्थाको रकम अपचलन अनुसन्धानका लागि अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत मोरङबाट १० जनाको नाममा पक्राउ अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको हो ।
यसरी पक्राउ पुर्जी जारी हुनेमा सहकारीका अध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ, कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंह र सदस्यहरू जहदा–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी र धनपालथान–२ का जितमान ठाकुर रहेका छन् ।
त्यसैगरी सहकारीको लेखा समितिका संयोजक विजयकुमार यादव, सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
उमागौरी सहकारीको बचत अपचलन विषयमा जिल्ला अदालत मोरङबाट १० जनाविरुद्ध पक्राउ अनुमति लिएर अनुसन्धान सुरु गरिसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए । उनका अनुसार सहकारी संस्थाको वर्तमान सञ्चालक समितिका ७ र लेखा सुपरिवेक्षण समितिका ३ गरी १० जनाविरुद्ध पक्राउ अनुमति लिइएको छ ।
उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।
नेता पत्नीलाई उन्मुक्ति
यो सहकारीको ठगी प्रकरणमा संसदको सार्वजनिक लेखा समिति सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला पनि जोडिएकी छन् । उमागौरी सहकारीको पूर्वसञ्चालक अञ्जला कोइराला कालोसूचीमा छिन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् ।
रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी पूर्वसञ्चालक समिति सदस्य कोइरालाविरुद्ध भने पक्राउ पुर्जी जारी गरिएको छैन । अञ्जला प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी हुन् ।
सहकारीले समयमा ऋण चुक्ता नगरेको कारण देखाउँदै अञ्जलासहितका तत्कालीन सञ्चालक समितिका पदाधिकारीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिएको थियो । आरएसडीसीले उमा गौरी सहकारीका नाममा ०७९ कात्तिक १६ मा निकालेको कर्जा चुक्तासम्बन्धी सूचनामा अन्य सञ्चालकसँगै अञ्जलाको पनि नाम र तस्बिर छापिएको थियो ।
प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले उमागौरी कृषि सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न गत भदौ २४ मा रंगेली प्रहरीलाई लेखेको पत्रमा अञ्जलाबाहेक १० जनाको नाम थियो । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले पनि उही भाषाको पत्र प्रहरीलाई पठाएको थियो ।
२०६८ सालमा स्थापित उमा गौरी कृषि सहकारीमा अञ्जला दुई कार्यकाल सदस्य थिइन् । उनले २०७८ माघ ५ मा सहकारीबाट राजीनामा दिएको बताएकी छन् । आरएसडीसी लघुवित्त संस्थाबाट उक्त सहकारीले ऋण लिने निर्णय गर्दा अञ्जलाले ‘माइन्युट’ मा हस्ताक्षर गरेको पाइएको छ । आरएसडीसीले उच्च अदालत विराटनगरमा उपलब्ध गराएको कागजातअनुसार ०७७ पुस २९ मा थप ३ करोड रुपैयाँ कर्जा माग गर्ने सहकारीको निर्णयमा पनि अञ्जलाको हस्ताक्षर छ ।
‘माइन्युट’ मा उल्लेख गरिएको विवरणअनुसार सहकारीले ०७७ पुस २९ अगावै पनि लघुवित्तबाट ४ करोड २५ लाख कर्जा लिई कारोबार गरिरहेको र लगानी विस्तार गर्न थप ३ करोड कर्जा माग गर्ने निर्णय भएको थियो । उक्त लघुवित्तबाट प्राप्त हुने कर्जा सहकारीका नाममा नबिल बैंकको विराटनगर शाखामा रहेको खातामा जम्मा गर्न आग्रह गर्ने पनि ‘माइन्युट’ मा उल्लेख छ ।
कर्जा लिने विषयमा भएका तीन वटै बैठकमा संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष दिलमाया राई, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सचिव आलम अन्सारी मियाँ तथा सञ्चालकहरू अञ्जला कोइराला, आमोद मण्डल र रोशन राजवंशी उपस्थित थिए ।
उमा गौरी कृषि सहकारीले ०७७ असोज २८, ०७७ फागुन १३ र ०७८ असार २४ मा लघुवित्तबाट ऋण लिएको र अञ्जलाले सहकारीको सञ्चालक समितिको पदाधिकारीका हैसियतमा सामूहिकरव्यक्तिगत धनजमानी दिएको आरएसडीसीको दाबी छ ।
प्रतिकृया दिनुहोस