खसुक्क जापान जाँदा कोशी प्रदेशका मन्त्रीको गयो पद, विवादमुक्त हुन दिए राजीनामा

दलालको फन्दामा परेका थिए मन्त्री अधिकारी, यसरी खुल्यो कार्यकर्ताको पोल

Lilabalv adhikari

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

मन्त्रिपरिषद्‌बाट भ्रमण स्वीकृत नगरी जापान गएको विषय विवादमा परेपछि उनले राजीनामा दिएका हुन् । नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा अधिकारी एमालेबाटै मन्त्री बनेका थिए ।

मन्त्रालयमै आज पत्रकार सम्मेलनको आयोजना गरेर उनले राजीनामा घोषणा गरेका हुन् । अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाइसकेको जानकारी गराए ।

मन्त्री अधिकारी बिना अनुमति र बिना जानकारी जापान गएको विषय विवादमा परेको थियो । त्यही विवाद अधिकारीले पद गुमाउने अवस्थासम्म पुग्यो ।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णयसहित पठाउनुपर्ने व्यवस्था छ । तर, मन्त्रिपरिषद्को निर्णय बिना नै जापान पुगेर फर्किएको भनेर मन्त्री अधिकारीको आलोचना भइरहेको छ ।

जापानमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै अधिकारी गत कात्तिक १३ गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनी टोकियो महानगरले आयोजनामा भएको कार्यक्रममा जापान गएको बताइएको छ ।

यसरी खुल्यो कार्यकर्ताको पोल
अधिकारीलाई जापानको टोकियो महानगरपालिकाको कार्यक्रममा सहभागी हुनका लागि निम्तो आएको थियो । उनलाई पठाइएको निम्तोमा अक्टोबर २९ देखि नोभेम्बर ३ सम्म कार्यक्रमको तालिका थियो । उनलाई जापान जाने व्यवस्थापन मोरङ घर भई काठमाडौ बस्दै आएका एक एमाले कार्यकर्ताले मिलाएका थिए ।

अधिकारीका अनुसार २५ अक्टोबरमा भिसा लाग्यो । उनी २७ अक्टोबरमा जापानका लागि उडे । टोकियोको कार्यक्रममा मन्त्रीको हैसियतमा एक्लै जाने र सम्पूर्ण खर्च आयोजकले ब्यहोर्ने जानकारी व्यवस्थापकले गराएका थिए ।

आफ्नै क्षेत्रका कार्यकर्ताको विश्वास गरेर हिँडेका उनी हङकङ पुगेपछि झस्किए । हङकङमा ट्रान्जिटको बेला उनीसँगै कार्यक्रममा सहभागी हुन हिँडेको भन्दै तीन जना नेपाली भेट्न आए । भ्रमण दलको सदस्य भन्दै खोटाङका जनक राई र दावा शेर्पा तथा रसुवाका कञ्चन देवकोटाले उनलाई भेटेका थिए ।

तीनै जनाको साथमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहायक स्तरको कर्मचारीको परिचय पत्र थियो । मन्त्रालयको परिचय पत्र बोकेका तीन जनालाई सोधीखोजी गर्दा टोकियोमा पुगेपछि नफर्किने जवाफ दिए ।

अवैध रुपमा मानिस ओसार पसार गर्ने समूहले आफूसँगै तीन जनालाई जापान पुर्‍याउन लागेको थाहा पाएपछि अधिकारी झस्किए । ‘मन्त्रालयका कर्मचारी त म चिन्छु, तीन जना परिचय गर्न आएपछि म झस्किएँ’, अधिकारीले भने, ‘हङकङबाट फर्कन खोजेँ, तर ट्रान्जिट भएकाले मिलेन, टोकियो पुग्नै पर्‍यो ।’

टोकियो पुगेपछि मन्त्री अधिकारी पूर्वनिर्धारित कार्यक्रममा गएनन्, आफूसँग गएका तीनै जनालाई लिएर नेपाल फर्किए । ‘कार्यक्रममा गएको भए उनीहरु लुक्ने थिए, त्यसैले गइनँ’, उनले भने, ‘सँगै नेपाल फर्किएर उनीहरुलाई प्रहरीको जिम्मा लगाएँ ।’

उनका अनुसार तीन जनालाई जापान लैजाने भनेर पैसा पनि उठाएको देखिएको छ । हङकङबाटै नेपाल प्रहरीको बिशेष ब्यूरोका डीआईजी राजन अधिकारीलाई जानकारी गराएको मन्त्री अधिकारीको भनाइ छ । यहाँ आएपछि प्रहरीलाई जिम्मा लगाएको भन्दै उनले भने, ‘अनुसन्धानका लागि प्रहरी महानिरीक्षकलाई पनि जानकारी गराएको छु ।’

प्रतिकृया दिनुहोस