माओवादी अध्यक्ष प्रचण्ड भन्छन्, खवरदारी सभा रवि लामिछानेलाई बचाउन मात्रै होइन
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेको बचाउमा नभएको प्रस्ट पारेका छन् ।
माओवादी केन्द्रले शनिबार काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा आयोजना गरेको खबरदारीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकार ढल्छ भन्ने डरले अझै बेथिति र भ्रष्टाचारीको संरक्षणतिर नलाग्न पनि पूर्वप्रधानमन्त्री दाहालले चेतावनी दिएका छन् । साथै प्रचण्डले सत्तारुढ दलहरूले नै सरकार ढल्ने भ्रम फैलाइरहेको बताए ।
प्रचण्डले सरकारमा जानका लागि वा सरकार ढलाउनका लागि माओवादी सडकमा नआएको बताए । ‘अहिले सरकार ढाल्नका लागि खबरदारी सभा गरेको होइन । खबरदारी सभा घोषणा गर्ने बित्तिकै सत्तापक्षमा आतंक सिर्जना भयो कि सरकार आजै ढल्छ, भोलि नै ढल्छ, हामीले भनेका छैनौं उहाँहरूले नै भन्नुभएको छ । तपाईहरू सरकार ढल्छ भन्ने डरले अझ बढी बेथितितिर नजानुहोला, भ्रष्टाचारीको संरक्षणतिर नजानुहोला,ु दाहालले भने, ुलोकतन्त्र र संविधान माओवादी केन्द्रको त्याग र बलिदानबाट बनेको छ । त्यसमाथि आघात नपुगोस् भन्नेमा हामी अझ बढी गम्भीर र जिम्मेवार छौं । हामीले यो खबरदारी सभा नगर्ने हो सरकारको बेथिति र भ्रष्टाचारका गतिविधिको विरोध नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्छ । अराजकतावादी, प्रतिगमनकारीले टाउको उठाउने खतरा हुन्छ ।’
माओवादीले खबरदारी सभा घोषणा गरेपछि सरकारमा रहेका दलहरूले सरकार ढाल्न खोजेको र त्यो संविधान विरोधी हुन्छ भन्ने अभिव्यक्ति दिएको कुरा आफूकहाँ पनि पुगेको दाहालको भनाइ थियो । उनले भने, ‘रवि लामिछानेको कुरा चलिरहेको थियो । मैले तपाईं निर्दोष हुनुहुन्छ भने डराउनुपर्ने कारण के छ भनेको हो रवि लामिछानेलाई पनि । त्यहीअनुसार बनोस् भनेको हो । बन्न हुँदैन भन्ने केपी ओलीजी हो । रविलाई हरहालतमा बचाउनैपर्छ भन्ने केपी ओलीजी हो ।’
उनले आफ्नो पार्टीले गरेको सकारात्मक र राम्रा कामका कारणले जनताले एकपटक माओवादीलाई नै हेर्नुपर्ने ठानेको जिकिर गरे । प्रचण्डले एमाले र कांग्रेससँग सम्बन्धित व्यक्तिलाई छानबिन नगर्ने, तर अहिले प्रतिपक्षलाई मात्रै पूर्वाग्रह राख्ने तयारी बेठीक भएको बताए ।
प्रतिकृया दिनुहोस